शनिवारीय विचार विशेषः
पितृसत्तात्मक समाज र भाग्यमानी म
म एक पुरुष हुँ । म भाग्यमानी रहेछु । मलाई समाजले जन्मिँदै उच्च स्थान दिलाएको छ । कसैले जन्माएर हुर्काएकी एउटी स्त्री मेरो सेवामा हाजिर छे । उ मात्र होइन उसको शरीर चिरेर जन्मिएका मेरा तीन सन्तानमाथि पनि मेरै हक छ । म जन्मैले यो मेरो सानो साम्राज्यको मालिक हुँ । बीस पच्चीसको उमेरसम्म जन्मघर सिंगारेर, उज्यालो पारेर बसी हुर्की गरेका घरकै मान्छेले अब अन्तै जानू, यो घर तेरो होइन भन्दा के बित्छ एउटी छाेरीमा? आफ्नो पेट चिरेर मृत्युलाई प्रत्यक्ष अनुभव गर्दै जन्म दिई आफ्नै शरीर सुकाउँदै सिंचेर हुर्काउने ती आमा छोरीको विवाहमा खुशीका आँशु झार्छिन् किन? अनौठो होइन, छुरी रोप्नु अनि खित्का छाड्दै हाँस्नु? कसरी सम्भव हुन्छ यसरी रुने बेलामा हाँस्न? वास्तवमा ती आमा त्यो दिन पनि हाँसेकी हुन्नन् । त्यो सबै उनले लोकाचारका लागि गरेकी हुन्छिन् । आफू वर्षौँ आँशु पिउँदै सन्तानलाई अमृत पिलाएर हुर्काउने आमा त्यस दिन वास्तवमै हाँस्छिन् भने ती त्यो सन्तानकी आमा होइनन् । उसलाई अरु नै कसैले जन्माएको हुनुपर्छ । त्यसलाई धर्म र सभ्यताको नाम दिएर घमण्ड नगरे हुन्छ । त्यो त हामी पुरुषहरुको अभिमान र हाम्रो वर्वर पितृसत्तात्मक समाजको कोपका भयको परिणाम मात्र हो ।
हाम्रा पौराणिक ग्रन्थ, इतिहासहरु साक्षी छन् वैदिक कालमा नारीको इच्छा विपरीत विवाह गर्न कर गरिँदैनथ्यो । नारीले रोजेको पुरुषसँगै उसको विवाह हुन्थ्यो । बिस्तारै मान्छेको अहंकारले यति सम्म जरा गाड्यो, पित्रृसत्ता यति सम्म क्रुर भयो कि नारीको उठबस देखि उसका हरेक कृयाकलाप परिवार र समाजको इज्जतसँग जोडेर हेर्न थालियो । समाजमा अपाच्य, गल्ति भनिएको एकै घटनामा उत्तिकै संलग्न, उत्तिकै दोषी पुरूषको गल्ति नै देख्न छाडियो । त्यहिँ महिलालाई भने उपेक्षा गर्न थालियो र सजायको भागिदार बनाइयो । अझ उक्त पुरूषलाई पनि उसैले उक्साएको, नत्र त्यो पुरूष तथाकथित अपराधमा संलग्न हुने नै थिएन भन्दै महिलालाई नै दोषी ठहर गर्न थालियो । सामाजिक मापदण्ड नै यस्तो बन्यो कि एकै कोखबाट आफैले जन्माएका छोरा र छोरीलाई हेर्ने स्वयं आमाकै हेराइ पनि फरक हुन थाल्यो र त्यै निकृष्ट परम्परालाई आफ्नो र उत्कृष्ट मानेर कलिला छोरीहरूलाइ उनीहरूको इच्छा विपरीत चिन्दै नचिनेको, देख्दै नदेखेको मानिससँग विवाह गरेर पठाइन थालियो ।
तीनै महिलाले पाखण्डी समाजको इज्जत राखिदिनुपर्ने! कता कुन अङ्ग देखिने हो कि त्राहिमाम् हुनुपर्ने! म पुरुष भएकाले हनुमाने कट्टुमात्र लगाएर सार्वजनिक धारामा खुलेआम अंगप्रत्यंगमा हातले मिचिमिची नुहाउँदा पचाउने समाजले एउटी महिलाले बाथरुमभित्र लगाएको पेटिकोट पनि कम देख्छ! न पुरुषका न महिलाका, सबै अंगका आफ्ना आफ्ना काम छन् । कुनै राम्रा कुनै नराम्रा छैनन् । के पुरुषको पेटमा मल छैन? के पुरुषको गुदद्वार चैं पवित्र, महिलाको चैं अपवित्र हो? मेरा विचारमा सबै प्राणीको गुदद्वार पवित्र हुन्छ । हाम्रो शरीरलाई हरक्षण पवित्र, स्वस्थ राख्ने अङ्ग कुन हो विचार गर्नुभएको छ कहिल्यै? साँच्चै भन्ने हो भने मुख भन्दा गुदद्वार चोखो हो! मुखबाट असल चिज मानेर हालिएका मीठा मीठा परिकारले दिशा बन्छ । गुदद्वारबाट निस्केको दिशा यस सृष्टिका उत्तिकै महत्वपूर्ण किट पतंग र बोटविरुवाका लागि जीवन दिने बुटी बन्छ! बाँच्ने हक तपाइँलाई मात्र छ र! तपाइँ एक दिन मुख नधोई, दाँत नमाझी बस्न सक्नुहुन्छ र? के गुदद्वारलाई पनि त्यस्तै दिनहुँ फेसवास लगाएर धुने गर्नुपरेको छ वा ब्रसले माझ्नुपरेको छ? अब भन्नुहोस् कुन चोखो हो?
म एउटा संयोगको उदाहरण दिन चाहन्छु । तपाइँ जंगलको बाटो कतै जाँदैहुनुहुन्छ । तपाइँलाई दिशा लाग्यो । अब यो कस्तो असभ्य उदाहरण दिएको भन्नुहेला । तर एकछिन, के तपाइँ एकदिन मात्र पनि दिशा नगरी बस्न सक्नुहुन्छ? यदि होइन भने यो उदाहरण कसरी असभ्य भयो! दिशापिसाब नगर्ने मानिस त के कुनै जीवजन्तु नै छैनन् भने यो कुरै गर्न नहुने, त्यति शरमजनक र गोप्य कुरा होइन भन्ने मेरो विचार छ । तपाइँलाई दिशाले निकै च्याप्यो । अब पक्कै तपाइँ सामान्य लाजको ख्याल गर्दै कतै छलिएर बस्नुभयो । तपाइँको दुर्भाग्य, तपाइँको कर्म सकिएको थिएन, एउटा बाघले तपाइँलाई देखिहाल्यो। यो सामान्य संयोग नै हो कि जंगलमा बाघले आक्रमण गर्न सक्छ । अब तपाइँका सामु तीनवटा विकल्प छन्- पहिलो, मेरो आयू यति नै रहेछ भनेर चुप लागेर बस्ने र बाघलाई उसको भोक मेटाउन दिने । दोश्रो, दिशा सफा गरेर लुगा लगाउने अनिमात्र उठ्ने र तुरून्त रूख चढ्ने । तर तपाइँलाइ थाहा छ, त्यसो गर्दा तपाइँलाई रूख चढ्न ढिलो हुनसक्छ र बाघले तपाइँलाइ भेटाउने जेखिम निकै बढी छ । तेश्रो, लुगा नलगाई उठेर भाग्ने र नजिकैको रूखमा चढेर ज्यान बचाउने । त्यसो गर्दा ज्यान जोगिने सम्भावना बढी छ तर उध्दारका लागि आउने मान्छेहरूले तपाइँलाई दिशापिसाबमा लत्पतिएको र सम्भवतः नाङ्गै देख्नेछन् जुन कुरा तपाइँजस्तो समाजको एउटा इज्जतदार व्यक्तिका लागि निकै शर्मनाक कुरा हो ।
अब एकैछिन् यी विकल्पमाथि विवेचना गरौं । यस्तो अवस्थामा तपाइँ पहिलो विकल्प त पक्कै रोज्नुहुन्न होला । र दोश्रालाई पनि अधिकांशले नरोज्लान् भन्ने मेरे तर्क छ । म चाहिं ज्यान रहन्छ भने मान्छे बाँकी जुनसुकै कुरा भएपनि तत्कालका लागि त्याग गर्न तयार हुन्छ भन्छु । त्यसैले म चाहिं जति लाज शरम लाग्ने भएपनि तेश्रो विकल्प नै रोज्छु । किनभने लाजशरम त फेरि लुगा लगाएपछि ढाकिएला तर बाघले लिएको प्राण त उसैलाई मारे पनि फेरि फर्किन्न!
हरेक कुरालाई इज्जतको विषय बनाइनु अतिवाद हो । तपाइँले अमेरिकाको एउटा गाउँको बारेमा सुन्नुभएकै होला, जहाँ लुगा लगाउने मान्छेलाई प्रवेश निषेध गरिएको छ । फूलको आँखामा फूलै संसार भनेजस्तै श्लील र अश्लील, इज्जत र बेइज्जत भन्ने कुरा तपाइँले स्वीकार गरेका मापदण्ड र सीमाहरूमा भर पर्छ । नत्र यस संसारमा त कुनै कुरा अश्लील र इज्जतहीन छैनन् । यदि हुन्थ्यो त सबै जीवजन्तुमा समेत यति उन्नत र चेतनशील मान्छे रचना गर्न सक्ने सिपालु इश्वर वा प्रकतिले त्यति जाबो लाज ढाकेर जन्म दिन नसक्ने त पक्कै थिएन होला!
पशुपंक्षीले समेत आफ्ना जोडी आफैं रोज्छन् । पशुपंक्षीका स्त्रीहरु आफ्नो नर रोज्न स्वतन्त्र छन् । हामी मान्छे भने आफ्नो अहंकारलाई इज्जत र सभ्यताको परिभाषाले ढाकछोप गरेर प्राकृतिक नियमको उल्लंघन गरिरहेका छौं । तपाइँलाई आफ्नो अहंकार त्यत्तिको प्रिय छ भने, पराया स्त्री र उसका सन्तान आफ्ना हुन् भनेर गौरब गर्ने हो भने, प्राकृतिक सत्यलाई बिर्सेर, आफ्नो हठ सिद्धिका लागि श्रीमती र सन्तानका भोक, इच्छा र स्वतन्त्रतालाई तपाइँको खोक्रो धर्म, आदर्श, लहड र सिद्धान्तले किच्न पाउनुहुन्न । विवाह पछि छाेरीकाे सट्टा छाेरालाइ पराइघर पठाउने चलन भएकाे भए तपाइँ बुहारीहरू झैं सबैलाइ रिझाएर बस्न सक्नुहुन्थ्याे कि हुन्नथ्याे हाेला भनेर कहिल्यै साेच्नुभएकाे छ? आफ्नो कर्तव्य पूरा गर्न नसक्ने अनि त्यो आफ्नो अक्षमताको अाैचित्य खोक्रो परम्परा, इज्जत र सभ्यताको आडमा प्रमाणित गर्न खेज्नुहुन्छ भने तपाइँ विवाह गर्न र सन्तान उत्पादन गर्न लायक होइन । तपाइँको आफ्नो सोख, तथाकथित धर्म, इज्जत र लहडका कारण एउटा अर्कै घरबाट तपाइँको जीवनभर तपाइँको सेवामा हाजिर श्रीमती र तपाइँलाई प्रकृतिका अमूल्य उपहार ती कलिला लालाबालाको जीवन ध्वस्त पार्ने तपाइँलाई केहि अधिकार छैन । तपाइँ अविवाहित नै बस्नुहोस् ।
हुँदा हुँदा लगाउने लुगामा नियम, बन्देज, संस्कारमा नियम, बन्देज, उठ्ने बस्ने देखि लिएर मृत्युको क्षणसम्म तरह तरहको नियम, बन्देज र सिमाहरु! पञ्चानब्बे प्रतिशत भन्दा बढी नियम र बन्देज स्त्रीका लागि, बाँकी पुरुषका लागि । पुरुषका लागि बन्देजहरुको कोटी पनि अलि उच्च! नारीलाइ गोडा ढोगाउने होइन पुरूष हो, नारीको त्यागका अघि जीवनभर तिमीले दिनहुँ विहान सबेरै उठ्ने बित्तिकै श्रीमतीको गोडा ढोगेपनि कमै हुन्छ! अफ्नो शारीरिक बलका उन्मादमा आफैँलाइ सृष्टि गर्ने प्रकृतिको वास्तविक स्वरुपलाई गिजोलेर आफ्ना नियम, संस्कार र बन्देजका साङ्लाहरुले प्रकृतिस्वरुप स्त्रीहरुलाई धेरै जकड्न नखोज, नत्र एक दिन विद्रोहमा स्त्रीहरु तिम्रा सबै बन्धनहरु चुँडालेर, तिम्रो घरको संघार नाघेर, निर्वस्त्र, आफ्नो प्राकृतिक रुपमै स्वतन्त्र निस्किन थाल्नेछन्! केहि गर्न सक्ने छैनौ तिमीले, धेरै फूर्ति नगर । तीनै नारीका कोखबाट जन्मिएका हौ, तिम्रो अस्तित्वको कथा धेरै लामो छैन । आज तिमी तैपनि भाग्यमानी नै छौ किनभने त्यो दिन देख्नका लागि तिमी अजम्बरी छैनौ! जम्मा सत्तरी असी वर्षको आयू छ, त्यो पनि कतिखेर फ्याट्ट मरिन्छ टुंगो छैन । तैपनि यत्तिका अहंकार! यत्तिको इगो! कसरी यस्ता भयौ मान्छे! तिम्रो प्रकृति त यस्तो होइन! मलाई कविशिरोमणिजीको काव्य 'तरुणतपसी' को पंक्ति याद आउँछः
'.....म मर्ने हुँ मर्छु तर तिमी नराम्रोसित चुक्यौ'!