डेनमार्कको राष्ट्रिय फुटबल संघले मैदानमा आफै लडेका क्रिस्टियन एरिक्सन जिवितै रहेको जनाएको छ। डेनिस फुटबल संघका अनुसार एरिक्सन होस् मै छन् । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।

युरोकप फुटबल अन्तर्गत शनिबार राति फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल संघले जनाएको छ ।

एरिक्सन लडेपछि तुरुन्तै मेडिकलको टोली उपचारमा खटिएको थियो । उनलाई मैदानबाटै अक्सिजनसहित अस्पताल लगिएको थियो ।

युरोकपअन्तर्गत फिनल्याण्डसँगको पहिलो हाफ चलिरहेका बेला एरिक्सन आफैँ लडेका थिए । क्रिस्टियानो रोनाल्डोसहित विश्वभरका खेलाडी तथा खेलप्रेमीले एरिक्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

एरिक्सन लडेपछि खेल केही समयका लागि रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा फिनल्याण्ड विजयी भयो । फिनल्याण्डले डेनमार्कलाई १–० गोलअन्तरले पराजित गरेको हो ।