विश्वका मानिसहरूले पछिल्लो १० वर्षयता सिरिया संघर्षका क्रममा त्यहाँ बर्बादी र रक्तपात भएको मात्रै देखेका छन्‌। सिरियाका नागरिकहरूले योजनावद्ध र व्यापकस्तरमा मानवअधिकार उल्लंघन सामना गरिरहेका छन्। संघर्षरत पक्षहरूले बारम्बार अन्तरराष्ट्रिय मानवीय कानून उल्लंघन गरिरहेका छन्, तर कारबाही हुनबाट उम्किइरहेका छन्।' 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियामा लडाइँ छेडिएको १० वर्षपछि दिएको यो वक्तव्यले त्यहाँको अवस्था बुझ्न त्यति सकस पर्दैन। 

१० वर्ष पहिले अर्थात्‌ सन् २०११ मार्च १५ का दिन सिरियाको दक्षिणी शहर डेरामा लोकतन्त्र समर्थकहरूले प्रदर्शन गर्दा हिंसा भड्किएका थियो। सो प्रदर्शन लोकतन्त्र बहाली गर्न छिमेकी देशहरूमा फैलिएको अरब स्प्रीङको प्रभाव थियो। गुटेरेसले शब्द सापटी लिँदा सो प्रदर्शन सिरियाका लागि डरलाग्दो भविष्य भइदियो। 

त्यतिखेर सिरिया सरकारले डेरामा प्रदर्शनरत जनताको आवाज दबाउन बल प्रयोग गर्‍यो। लगत्तै, देशभरबाट राष्ट्रपति बशर अल असदको राजीनामा माग्न थालियो। आन्दोलन भड्कियो। त्यसपछि जुन आकारमा आन्दोलन अघि बढ्यो, सोही आकारमा सरकारी दमन पनि बढ्दै गयो। 

विपक्षीहरूले हतियार उठाए। सिरिया गृहयुद्धमा फस्यो। त्यसपश्चात देशभर एकपछि अर्का विद्रोही समूहहरूको उदय भयो। राष्ट्रपति असदको पक्ष र विपक्षमा सिरियाली नागरिकलाई विभाजन गर्न यी समूहहरूलाई धेरै समय लागेन। 

विदेशी शक्तिहरू पनि कुनै न कुनै पक्षलाई साथ दिन तम्सिए। हतियार र लडाकु पठाउन थाले। करेलामा तीतो तब चढ्यो–जब स्वघोषित इस्लामिक स्टेट चरमपन्थी र अलकायदाजस्ता कयौं अतिवादी जिहादी संगठनहरूले पनि आफ्नो स्वार्थ पूरा गर्न सिरियालाई नै केन्द्र बनाए।

१० वर्ष बितिसक्दा पनि सिरिया द्वन्द्व अन्त्य हुने कुनै संकेत देखिएको छैन। संयुक्त राष्ट्रसंघका अनुसार यो युद्धमा अहिलेसम्म ३ लाख ८७ हजार जना मारिइसकेका छन्। सन् २०११ मा त्यहाँ जति जनसंख्या थियो-त्यसको झण्डै आधाले बाध्यतावश देश छाडिसकेका छन्। बाँकी रहेकामध्ये पनि ६० प्रतिशत नागरिक गरिबीको भयानक दलदलमा फसिसकेका छन्। 

यो युद्धले सिरियाका युवाहरूको जीवन ध्वस्त पारिदिएको छ। शिक्षा र रोजगारीबाट बञ्चित भएकाको संख्या हिसाब गरिसाध्य छैन। 

तलका विवरणहरू पढ्दा सिरिया संघर्ष कति भयानक छ भन्ने थाहा लाग्छ।

१. पाँच लाख मानिसहरू मारिए या गायब बनाइए

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार सन् २०११ मार्चदेखि २०२० डिसेम्बरसम्म सिरियामा २ लाख ५ हजार ३ सय मानिस मारिएका छन्। यी मध्ये १ लाख १६ हजार ९११ जना आम नागरिक हुन्। 

संस्थाका अनुसार २ लाख ५ हजार ३०० जना अझै बेपत्ता छन्। सरकारी जेलमा यातना दिएर मात्रै ८८ हजार सिरियाली नागरिकको हत्या भएको छ। 

बालबालिकाका लागि कार्यरत भनिएको संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफका अनुसार सिरिया संघर्षका क्रममा १२ हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको छ।

करिब २१ लाख मानिसहरू स्थायी रुपमै अपाङ्ग भएका छन्। 

२. एक करोड मानिसले घर छाडिदिए

लडाइँ छेडिनुभन्दा पहिले सिरियाको कूल जनसंख्या २ करोड २० लाख हाराहारीमा थियो। तर, युद्धका कारण ज्यान जोगाउनै मुस्किल भएपछि करिब आधा जनसंख्याले आफ्नो घर नै छाडिदिएका छन्। 

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) का अनुसार घर छाडेका मध्ये ६७ लाख मानिसहरू देशकै अन्य ठाउँमा भौंतारिरहेका छन्। करिब ५६ लाखले त देश नै छाडिदिएका छन्।

उनीहरू अहिले विदेशमा शरणार्थी जीवन बिताइरहेका छन्। देश छाडेकामध्ये करिब ९३ प्रतिशत सिरियालीहरूले लेबनान, जोर्डन र टर्कीमा शरण लिएका छन्। 
यो समस्यालाई मानव इतिहासकै सबैभन्दा ठूलो शरणार्थी समस्या मानिएको छ। १० लाखभन्दा धेरै सिरियाली बालबालिकाहरू देशभन्दा बाहिर नै जन्मिएका छन्। 

३. ९० प्रतिशत जनता गरिबीको रेखामुनि

लडाइँ चलिरहँदा सिरियाका २० लाख मानिसहरू अतिसाध्य गरिबीमा फसेका छन्। झन्डै ९० प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्‌क बीबीसीमा उल्लेख छ। 

४. एक करोड ३४ लाखलाई तत्कालै मानवीय सहायता आवश्यक

संयुक्त राष्ट्र संघका अनुसार, आधारभूत आवश्यकता पनि पूरा गर्न नसकिरहेका सिरियालीहरूको संख्या ६० लाखभन्दा धेरै छ। बच्चाहरूको अवस्था सबैभन्दा नाजुक छ। हालत यस्तो छ कि धेरै परिवारहरूसँग अब केही पनि बाँकी छैन। 

इदलिबमा एउटा पालभित्र जीवन गुजारिरहेका २८ वर्षीय नुर अल शामले भनिन्, पहिले हामी इदलिबको दक्षिणमा पर्ने एक घरमा आफ्नो परिवारसाथ बस्थ्यौं, त्यहाँ हामीसँग सबैथोक थियो, अहिले म उत्तरतर्फ आएको छु र पालभित्र आदिम आदिवासीले झैं जिन्दगी गुजारिरहेको छु। 

५. एक करोड नागरिक भोकमरीको चपेटामा

रेडक्रसका अनुसार सिरियाको करिब ६० प्रतिशत जनसंख्या भोकमरीमा फसेको छ।

युनिसेफका अनुसार ५० लाखभन्दा धेरै मानिसहरू कुपोषित छन्। गम्भीर कुपोषणकै कारण पाँच वर्षभन्दा कम उमेरका पाँच लाख बालबालिकाहरूको विकास रोकिएको छ। 

६. चरम महँगी

​पछिल्लो एक दशकमा सिरियाभित्र सामानको मूल्य २३६ प्रतिशतसम्म बढेको छ। युएनका अनुसार युद्ध शुरू हुनुभन्दा अघिको मूल्यसँग तुलना गर्दा त्यहाँ २९ गुणासम्म महँगी बढेको देखिन्छ। 

७. २४ लाख किशोर-किशोरी शिक्षाबाट वञ्चित

युनिसेफका अनुसार छिमेकी देशमा बसिरहेका ७ लाख ५० हजार बालबालिका विद्यालय जान पाएका छैनन्। यी मध्ये ४० प्रतिशत बालिकाहरू हुन्। 

युद्धका क्रममा करिब एक तिहाइ विद्यालय ध्वस्त पारिएकाले पनि यस्तो स्थिति निम्तिएको हो। 

८. ५० प्रतिशत स्वास्थ्य संस्था बन्द

सिरियामा ५८ प्रतिशत अस्पताल र ५३ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्रमात्रै सञ्चालनमा छन्। 

फिजिसियन फर ह्युमन राइट्स नामक एनजीओका अनुसार सन् २०२० मार्चसम्म ३५० वटा स्वास्थ्य संस्थामा ५९५ पटक हमला भइसकेको छ। हमलामा परी ९२३ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ। 

९. अलेप्पोमा मात्रै ३५ हजार संरचना ध्वस्त

युद्धका कारण सिरियामा भयानक ध्वंस भएको छ। स्याटेलाइट तस्वीरहरू विश्लेषण गरेपश्चात युएनले अहिलेसम्म त्यहाँ ३५ हजारभन्दा धेरै संरचना ध्वस्त भएको जानकारी दिएको छ। 

यो लडाइँमा सिरियाका धेरै सांस्कृतिक विरासत खरानी या ढुंगामाटोको थुप्रोमा बदलिएका छन्। युनेस्कोले विश्व सम्पदा सूचीमा राखेका ६ स्थानमा पनि व्यापक क्षति पुगेको छ। 

१०. ३८ पटक रासायनिक हमला

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का अनुसार युद्धयता सिरियामा ३८ पटक रासायनिक हमला भएको छ। यस्ता ३२ वटा हमला त राज्यपक्षले नै गरेको छ।

यी हुन् युद्ध मच्चाउनेहरू 

अमेरिका, बेलायत र फ्रान्सले शुरूमा असदविरोधी प्रदर्शनकारीलाई समर्थन गरेको थियो। हतियार र तालिम लगायत सुविधा दिई असद सरकारविरुद्ध फौजी संघर्ष छेड्न उक्साउने तागत यिनै थिए।

तर, जब सिरियामा जेहादीहरू बलिया भए : तब यी देशले विद्रोहीहरूलाई उपलब्ध गराउँदै आएको सहायता कम गरिदिए। सहयोग दिएका विद्रोहीहरू पनि चरमपन्थी संगठनमा आवद्ध हुन थाले। 

अमेरिकाले सिरिया सरकारविरुद्ध वैश्विक गठबन्धनको नेतृत्व गर्‍यो। उसले सन् २०१४ देखि सिरियामा हवाई हमलामात्रै गरिरहेको छैन, सेना पनि तैनाथ गरेको छ। कुर्दिस र अरब लडाकुहरूको गठबन्धन सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) लाई सक्दो सहयोग गरिरहेको छ। 

असद सरकारविरोधी गठबन्धनको प्रमुख हिस्सेदार टर्की पनि हो। साउदी अरबले इरानको सहयोग रोक्न विद्रोहीलाई हतियार र रकम उपलब्ध गराइरहेको छ। इजरायलले पनि सिरियामा इरानको बढ्दो प्रभुत्व कम गर्न हवाई हमलामार्फत हिजबुल्ला र शिया लडाकुलाई नियन्त्रण प्रयास गरिरहेको छ।

पछिल्लो दशकमा असद सरकारका मुख्य समर्थक रुस र इरान हुन्। टर्की, पश्चिमा शक्ति र खाडी मुलुकलगायत कयौं देशले असदविरुद्ध मोर्चा कसेका छन्। 

हवाई सैन्यअड्डा समेत राखेको रुसले सन् २०१५ देखि नै सिरियामा हवाई हमला थालेको थियो। यति ठूलो युद्ध र दबाबबीच पनि असद सरकार कायमै नरहनुमा रुसको निकै ठूलो भूमिका छ। 

इरानले पनि असदलाई सहयोग गर्न निकै ठूलो सैन्यबल र अर्बौं डलर खर्च गरिसकेको छ। त्यहाँको सेनालाई सहयोग गर्न सिया लडाकु पठाउनेदेखि हतियार र प्रशिक्षण उपलब्ध गराउनेसम्मका काममा इरान लागिपरेको छ। 

सिरिया कसको नियन्त्रणमा ? 

सिरिया सरकारले अहिले देशका ठूला शहरमा आफ्नो नियन्त्रण कायम गरेको छ।

तर, देशका केही महत्वपूर्ण भाग अहिलेपनि विद्रोहीहरूको नियन्त्रणमा छ।

कहिले रोकिएला लडाइँ ?

युद्ध रोकिने छाँटकाँट अझै छैन। तर, यस लडाइँमा सामेल सबै पक्षको राय लिएर राजनीतिक निकास निकाल्न सकिने उपाय अझै बाँकी छ। 

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले त्यहाँ जेनेभा सम्झौता लागु गर्न सकिने जनाइरहेको छ। यो सम्झौता कार्यान्वयन गरी त्यहाँ एक अस्थायी प्रशासनिक निकाय गठन गर्न सकिने रोडम्याप युएनले दिएको छ। 

परिषद्को मध्यस्थतामा ९ पटक वार्ता भइसकेको छ, तर अहिलेसम्म कुनै प्रगति भएको छैन। 

राष्ट्रपति बशर अल असद विपक्षी समूहहरूसँग कुराकानी गर्न इच्छुक देखिँदैनन्, किनकी दोस्रो पक्षले उनको राजीनामा मागिरहेको छ। 

यस्तो स्थितिमा सिरियामा युद्धसँगै बर्बादी कहिले रोकिन्छ, यसबारे अहिले केही पनि भन्न सकिँदैन।