भारतबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप माघ १४ गतेदेखि नेपालमा लगाउन शुरु भएसँगै यस खोपको बारेमा विभिन्न जिज्ञासा र संशय उत्पन्न भएका छन्। भारत सरकारबाट अनुदानमा उपलब्ध, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टीच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिशिल्ड नामक यस खोप नेपालमा हजारौँ अग्रपंक्तिमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीले लगाइसकेका छन्। उक्त १० लाख डोज खोप दुई पटक गरी करीब साढे चार लाखलाई लगाइँदैछ।

कस्तो हो कोभिशिल्ड खोप?

विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सिरम इन्स्टीच्युट अफ इण्डियाले यस खोपको उत्पादनका लागि अनुमति पाएपछि उसले कोभिशिल्ड नामक खोपको उत्पादन शुरु गरेको हो। यस खोपमा एडेनोभाइरस भनिने रुघाखोकी सार्ने भाइरसको कमजोर वा परिमार्जित संस्करण प्रयोग गरिएको छ। यस खोपले हाम्रो शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरस पहिचान गर्न मद्दत गरी त्यस विरुद्ध एन्टिबडी बनाउन लगाउने विज्ञहरुले बताएका छन्।

कुन खोपले कसरी काम गर्छ?

‘नन रिप्लिकेटिङ भाइरल भेक्टर’ मा आधारित कोभिशिल्ड खोपले हाम्रो शरीरमा प्रोटिन बन्न मद्दत गर्छ। “यसले शरीरमा प्रोटिन बन्न मद्दत गर्छ र हाम्रो रोग प्रतिरोधी प्रणालीले कोरोनाभाइरसको प्रोटिनलाई चिन्छ। अनि शरीरले यस विरुद्ध लड्न एन्टिबडी बनाउँछ,” जापानको ओशाका सिटी विश्वविद्यालयबाट विद्यावारिधि गरेकी विषाणु विज्ञ (भाइराेलाेजिस्ट) लुना भट्ट शर्माले साउथ एसिया चेकलाई बताइन्।

त्यस्तै अमेरिकी कम्पनी मोडर्ना र फाइजर-बायोएनटेककाे सहकार्यमा विकसित खोपहरु मेसेन्जर आरएनए प्रविधिमा आधारित हुन्। यो नयाँ खाले प्रविधिमा आधारित खोप हो। अधिकांश खोपले शरीरको प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसका लागि खोपमार्फत कमजोर वा निष्क्रिय भाइरस शरीरमा पठाइन्छ। तर मेसेन्जर आरएनएले हाम्रो शरीरको प्रतिरोध प्रणाली सक्रिय बनाउनका लागि शरीरका कोषलाई प्रोटिन बनाउन सिकाउँछ। “यो प्रविधिमा एन्टिबडी बनाउन जीवित वा निष्क्रिय भाइरस चाहिँदैन, प्रोटिन भए पुग्छ,” भाइराेलाेजिस्ट शर्माले भनिन्, “यसरी हाम्रो जिनलाई म्यानिपुलेट गर्न मिल्छ। त्यसैले मोडर्ना र फाइजरको खोप धेरै गुणा सुरक्षित मानिन्छ।”

त्यस्तै खोप विकासको अर्को प्रविधिमा भाइरसलाई निष्क्रिय पारिन्छ तर त्यसो गर्दा ‘केमिकल’ प्रयोग गरिन्छ। भारत बायोटेकबाट उत्पादित र भारतको नियमकारी निकायले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको कोभ्याक्सिन नामक खोप यो प्रविधिमा आधारित छ। भारतको नेसनल इन्स्टीच्युट अफ भाइरोलोजीमा कोरोनाभाइरसको एक नमुना प्रयोग गरी यो खोपको विकास गरिएको हो। दुई दशक पुरानो यस कम्पनीले १६ वटा खोप बनाई १२३ देशमा आपुर्ति गरिसकेको बिबिसीको एक रिपोर्टमा जनाइएको छ। तर यसको तेस्रो चरणको परीक्षण र यसको विकासक्रम बारे प्रश्न उठेका छन्।

न्युयोर्क टाइम्सको एक आलेख अनुसार कोभ्याक्सिन बेटाप्रोपियो ल्याक्टोन नामक रसायन प्रयोग गरी यसलाई निष्क्रिय बनाइएको हो। “यसमा भाइरस मरिसकेकाे हुन्छ। अब यो (खोप) सुरक्षित छ भने पनि कहिलेकाहीँ रसायन हाल्ने बेलामा राम्रोसँग भएन भने केमिकलको मात्रा रहिरहन सक्छ,” भाइरोलोजिस्ट शर्माको भनाइ छ। यदि उक्त भाइरस शत प्रतिशत मृत भएन भने रोग लाग्नसक्ने जोखिम पनि रहेको उनले बताइन्।

कोभिशिल्ड गर्भवती वा स्तनपान गराइरहेका महिलाले लगाउनुहुन्छ?

गर्भवती महिलाले यो खोप लगाउनु हुन्छ कि हुँदैन भन्ने बहस अहिले नेपालका विज्ञहरुबीच पनि चर्केकाे छ। गर्भवती वा स्तनपान गराइरहेका महिलालाई खोपको परीक्षणमा सामेल नगराइएकोले लगाउनु नहुने एकथरिको तर्क छ। अर्काथरिले गर्भवती महिला आफैले खाेप लगाउने नलगाउने निर्णय गर्नुपर्ने र काेभिड-१९ काे उच्च जाेखिममा रहेकालाई लगाउने विकल्प खुल्ला छाड्नुपर्ने बताउँछन्। अधिका‌ंश पश्चिमा देशले सबै उमेर समूह र अवस्थाका मानिसलाई खोप लगाएको र यस महामारीको जोखिम ठूलो भएकाले लगाउन समेत सुझाइएकाे छ।

भारतको इण्डियन एक्सप्रेसका अनुसार शरीरमा गर्भ रहँदा शरीरको प्रतिरोधी प्रणाली र भाइरसको संक्रमणप्रति त्यसको प्रतिक्रियामा बदलाव आउने भएकाले गर्भवती महिलालाई खोप नलगाउन त्यहाँको स्वास्थ्य मन्त्रालयले सुझाएको छ। बेलायत सरकारले जारी गरेकाे खोपसम्बन्धी सूचनामा समेत कोभिड-१९ को धेरै जोखिम नभएको अवस्थामा बच्चा जन्माइसकेपछि खाेप लगाउन र पहिलो डोज लगाएपछि गर्भवती भएमा दोस्रो डोज बच्चा जन्माइसकेपछि मात्र लगाउन सुझाइएको छ। त्यसैगरी स्तनपान गराइरहेका महिलाले पनि त्यो रोकिएपछि मात्र खोप लगाउनु उपयुक्त हुने बताइएको छ।

भाइरोलोजिस्ट शर्माका अनुसार काेभिड-१९ काे एकदमै जोखिममा रहेको अवस्थामा खोप लगाउनु सही हुने भएपनि गर्भवती महिलाले कोभिशिल्ड लगाउनु उपयुक्त हुँदैन। “यसले गर्भवती महिलामा पार्ने असरबारे रिसर्च नै भएको छैन। कसरी भन्ने र लगाउनुहुन्छ भनेर?” उनले भनिन्। नेपालमा गर्भवतीलाई यो खोप नलगाइएता पनि स्तनपान गराइरहेका महिलालाई भने लगाइएकाे छ।

अनि ६५ वर्ष माथिकाले नि?

नेपालले ज्येष्ठ नागरिकलाई समेत खोप दिने घोषणा गरेको छ। तर यो खोपको परीक्षणमा बढीजसो वयस्कले भाग लिएकाले बुढाबुढीका लागि प्रभावकारी हुँदैन कि भन्ने आशंका उत्पन्न भएको छ। यस विषयमा पनि वैज्ञानिकहरुबीच मत बाझिएको छ। जर्मनीले हालैमात्र ६५ वर्ष माथिकालाई अक्सफोर्ड एस्ट्राजेनेका खोप हाललाई नलगाउने घोषणा गरेको छ। द गार्जियनको एक लेखका अनुसार ६५ वर्ष माथिका मानिसलाई यो खोप कति प्रभावकारी हुन्छ भन्ने थाहा पाउन पर्याप्त तथ्यांक नभएकाले जर्मनीले त्यस्तो निर्णय लिएको हो। तर ६५ वर्ष माथिका बुढाबुढीमा पनि यो खोप प्रभावकारी हुने विज्ञहरुले बताएका छन्। “निष्पक्ष रुपमा भन्दा ६५ वर्ष माथिका बुढाबुढीमा त्यसै पनि रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ। दीर्घरोगीले यो खोप लिन मिल्दैन। भ्याक्सिन भन्दैमा जतिखेर पनि जति पनि लिने भन्ने हैन,” शर्माले भनिन्, “६५ वर्ष माथिका मानिसबीच कम परीक्षण भएको र नतिजा पनि कम आएको हो।” इण्डियन एक्सप्रेसको एक्सप्लेनरमा पनि कमजोर रोग प्रतिरोधी क्षमताका वा रोग प्रतिरोधसम्बन्धी औषधि सेवन गरिरहेकाले भारत बायोटेकबाट उत्पादित कोभ्याक्सिन नलगाउनु भनी विज्ञहरुले सुझाएको उल्लेख छ।

यो खोप लगाइसकेपछि के कस्ता असर देखिन्छन्?

कोभिशिल्ड खोप लगाएको व्यक्तिमा जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिनेगरेको चिकित्सकहरुले बताएका छन्। यस्ता लक्षणबाट आत्तिनु नपर्ने बरु यसबाट खाेपले काम गरेकाे पुष्टि हुने उनीहरुले बताए।

पहिलो दिन खोप लगाउने संख्या कम भएपनि दोस्रो दिनदेखि संख्या बढेको साउथ एसिया चेकले कुरा गरेका स्वास्थ्यकर्मीहरुले बताएका छन्। “मान्छेले वेट एण्ड वाच गरेका रहेछन् भन्ने थाहा भयो,” नुवाकोटस्थित सरकारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेले भने। बुटवलको लुम्बिनी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले मानिसहरुलाई मनोवैज्ञानिक रुपमा आश्वस्त बनाउन जानकारी दिन जाेड दिँदै खाेप कार्यक्रम अन्तर्गत आपत्कालीन स्वास्थ्यसेवा पनि उपलब्ध गराइएको बताए। “सामाजिक सञ्जालमा धेरैथरि भ्रम फैलाइएको छ। हरेक औषधिजस्तै यसको पनि केही साइड इफेक्ट हुन्छ। तर यो एकदमै स्वाभाविक हो,” उनले भने, “यो विज्ञानले खोज गरेर मानवजातिका लागि ल्याएको उपहार हो। यो राम्रोको लागि हो। यसलाई सकारात्मक किसिमले ग्रहण गदै अगाडि बढ्नु ठिक होला।”

के नर्वे र भारतमा यो खोप लगाएका कारण धेरै मानिसको निधन भएको हो?

नर्वेको एक नर्सिङ होममा फाइजर नामक कोभिड-१९ खोप लगाएका २३ जनाको निधन भएपछि उक्त खोपको प्रभावकारिता माथि प्रश्न उठेकाे थियो। उक्त समाचार नेपालका अखबार र विदेशका सामाजिक सञ्जाल प्रयाेगकर्तामाझ फैलाइएको थियो। तर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको एक तथ्य जाँचमा नर्वेको इन्स्टीच्युट अफ पब्लिक हेल्थले २३ मध्ये १३ मृत्युको अध्ययन गर्दा त्यसको उक्त खोपसँग कुनै सम्बन्ध नरहेको पत्ता लगायो। त्यसैगरी वायर्ड म्यागेजिनको एक लेख अनुसार फाइजरले त्यस्ता घटनाहरु आफूहरुले अनुमान गरेकै जति भएको र आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ। नर्वेमा औसतमा ४५ जना हरेक दिन नर्सिङ होममा निधन हुने पनि उक्त लेखमा जनाइएको छ।

भारतको अनलाइन स्क्रलका अनुसार कोभिशिल्ड खोप लगाएपछि हालसम्म ९ जनाको निधन भएको छ। प्रारम्भिक अध्ययनले तिनको मृत्यु खोपसँग सम्बन्धित नएपनि थप अध्ययन हुनुपर्ने अर्को एक समाचारमा जनाइएको छ।

स‌ंसारभरि दिनहुँ हजाराैँ मानिसकाे विभिन्न कारणले निधन हुन्छ। त्यसैगरी कैयाैँ मानिसलाई राेग लाग्छ। स्वास्थ्यविदहरुका अनुसार काेराेना खाेप लगाएका मानिसकाे लगत्तै मृत्‍यु भयाे भने त्याे खाेपकाे कारणले हाे वा अन्य कारणले भन्ने निर्क्याेल गरिनुपर्छ।

(यो सामग्री साउथएशिया चेकबाट लिइएको हो।)

तपाईको प्रतिक्रिया