प्रहरीले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न नेत्रविक्रम चन्द विप्लव समूहका नेतालाई पेस्तोलसहित पक्राउ गरेको छ । बुधबार मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई जिल्लाको बुढीगंगा गाउँपालिका-४ मा स्थित औद्योगिक क्षेत्रबाट हतियारसहित पक्राउ गरेको हो ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो । संखुवासभा साबिक मादी गाविस रामवेनी-७ हाल मादी नगरपालिका-४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ ।

प्रहरी उपरीक्षक खड्काका अनुसार विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका-१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो । त्यो घटना अनुसन्धान सिलसिलामा प्रहरीले उनी संलग्न रहेको यसअघि नै पत्ता लगाएको थियो ।

तपाईको प्रतिक्रिया