सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपबाट ‍परीक्षणकै चरणमा सहजै स्थायी लेखा नम्बर अर्थात प्यान दर्ता हुने सुविधा उपलब्ध गराएको छ। एपले सरकारी कार्यालय नपुगेरै सेवा सुविधा प्राप्त गर्न सकिने गरी सहजता ल्याउने बताइएको छ।

यसबाट हरेक दिन चौबिसै घण्टा सरकारी सेवामा जनताको पहुँच कायम हुने अपेक्षा गरिएको छ। त्यसै अनुरुप नागरिक एपमार्फत शनिबार सार्वजनिक विदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ट्वीट गर्दै कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण भएको बताएका छन् । नागरिक एपमार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिने उनको भनाई छ।

‘सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरुलाई नागरिक एपमार्फत घरमै बसीबसी सेवा लिने प्रक्रियामा आवद्ध हुन आव्हान गर्दछु,’ प्रधानमन्त्री ओलीले आग्रह गर्दै भनेका छन् । आज हामी तपाईंलाई नागरिक एपबाट कसरी प्यान दर्ता गर्न सकिन्छ भन्ने बारेमा बताउँदै छौं ।

एपबाट प्यान दर्ता कसरी गर्ने ?

सुरूमा तपाईंले आफ्नो मोबाइलको नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ । यसका लागि एन्ड्रोइड फोन हो भने यहाँ क्लिक गर्नुहोस् तथा आईओएस हो भने यहाँ क्लिक गर्नुहोस् ।

अब एप खोल्नुहोस् र भाषा छनोट गर्नुहोस्। यदि मोबाइलमा डार्क मोड अन गर्नुभएको छ भने त्यसलाई बन्द गर्न भने नबिर्सिनुहोस् ।

अब त्यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोस् । तपाईंले अरुको मोबाइल नम्बरबाट यो एपमा खाता खोल्न सक्नुहुन्न। त्यसैले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र ‘अगाडि बढ्नुहोस्’ ।

यति गरिसकेपछि एपले भर्खरै राखेको मोबाइल नम्बर तपाईंकै साथमा छ कि छैन भन्ने यकिन गर्न एसएमएसमार्फत ६ अंकको कोड पठाउँछ ।

उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः ‘अगाडि बढ्नुहोस्’ लेखिएको स्थानमा दबाउनुहोस्। आफ्नो मोबाइल नम्बर प्रमाणीत गराएजस्तै एपमा दर्ता हुन तपाईंले परिचयपत्रबाट आफ्नो विवरण समेत प्रमाणीत गराउनुपर्ने हुन्छ ।

त्यसका लागि नागरिकता, मतदाता परिचयपत्र वा राहदानी मध्ये कुनै एउटा विकल्प रोज्नुहोस् र त्यसै अनुसार विवरण भर्नुहोस्। अगाडि बढ्नुहोस् ।

यदि तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ। त्यससँगै एउटा फाराम खुल्छ ।

त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा तपाईंको दर्ता प्रक्रिया पुरा हुन्छ। अब यसमा पिन कोड राखेर तपाईं एपमा उपलब्ध सेवा प्रयोग गर्न सक्नुहुन्छ।

अब सुरुमा नागरिक एप खोल्नुहोस् । नागरिक एपबाट प्यान लिन तपाईंले आफ्नो नागरिकता विवरण पुष्टी गराउनुपर्ने हुन्छ ।

त्यसका लागि नागरिकता लेखिएको स्थानमा थिच्नुहोस् । त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस्।

तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा नागरिकता विवरण तत्कालै प्रमाणीकरण हुन्छ । यदि तपाईंले नागरिक एपमा खाता खोल्ने क्रममा नै नागरिकता विवरण भरिसक्नुभएको छ भने यो प्रक्रिया दोहोर्‍याइरहनु पर्दैन ।

अब प्यान लेखिएको स्थानमा थिच्नुहोस् र त्यसको अन्तिममा रहेको प्यान दर्ता गर्नुहोस् लेखिएको स्थानमा दबाउनुहोस् ।

त्यसपछि आफूलाई पायक पर्ने राजस्व कार्यालय छान्नुहोस्। अब त्यहाँ तपाईंले एपमा प्रमाणीकरण गराइसकेका विवरणहरु स्वतः भरिएर आउनेछन् ।

 

यति गरिसकेपछि आफ्नो मोबाइलबाट आफ्नो पासपोर्ट आकारको तस्वीर खिच्नुहोस् । तपाईंको मोबाइलमा यस अघि नै तपाईंको पासपोर्ट आकारको फोटो छ भने त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।

अब व्यक्तिगत विवरणको सुरुमा रहेको तस्वीरको संकेतमा थिचेर मोबाइलमा रहेको आफ्नो पासपोर्ट आकारको फोटो अपलोड गर्नुहोस् ।

फाराममा छुटेका सबै विवरण थप्नुहोस् र गलत विवरण सच्याउनुहोस्। यति गरेपछि तपाईँको निवेदन तयार हुन्छ। अब अन्तिममा दायाँतर्फ रहेको बुझाउनुहोस् लेखिएको स्थानमा दबाउनुहोस्। यति गर्दा तपाईंको प्यान दर्ता प्रक्रिया पुरा हुन्छ र एपमै आफ्नो प्यान कार्ड पाउन सक्नुहुन्छ।

सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी सरकारले शुक्रबार नागरिक एप सार्वजनिक गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन्।

सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो। ३ वर्षपछि यसले पूर्णता पाएको हो।

यसका साथै हाल एपमार्फत आफ्नो शैक्षिक विवरण, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगाएको सेवा लिन सक्नुहुनेछ । भने, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमकाे जनकारी समेत लिन सकिने छ । त्यस्तै एपमार्फत नै सरकारलाई गुनासो दर्ता गराउन समेत सकिने छ ।

हाल यती सेवा उपलब्ध भएतापनि नागरिक एपले सार्वजनिक सेवाका लागि सकेसम्म सरकारी कार्यालय जानै नपर्ने अवस्था ल्याउने बताइएको छ । यसमा विस्तारै राष्ट्रिय परिचयपत्रलाई समेत जोडिनेछ उल्लेख गरिएको छ।

यसबाट नागरिकको समय बचत हुनुका साथै झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढाएर भस्ट्राचार न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एपबाटै प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

जसअनुसार स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमै उपलब्ध हुने उल्लेख गरिएको छ। यो एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट भने आवश्यक पर्नेछ।

तपाईको प्रतिक्रिया