विराटनगर । फेसन शोमा फोटोग्राफीका लागि पोखराबाट बोलाइएका आफ्नै पाहुनाको फोटोग्राफी सम्बन्धि सामान चोरी गर्ने दुईजना पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा फेसन शो कार्यक्रम रहेको बताउँदै झापा अर्जुनधारा नगरपालिका–६ का अनुप ढकालले पोखराका महानगरपालिका–२० का बिमल कार्कीको सामान चोरेको आरोपमा पक्राउ परेका हुन् ।चोरी आरोपी ढकालसँगै उनका सहयोगी साराशं भट्टराईलाई समेत मोरङ प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । घटनामा जालझेल गरेर कार्कीलाई ढकालले फसाएको देखिएको छ । कार्कीले पोखरामा यूओर डिजिटल फोटा गुड्स सेन्टर सञ्चालन गर्दै आएका थिए । ढकालले पुस २४ गते इसेवाबाट चार हजार रुपैँया उनलाई पेश्की पठाएका थिए । पेश्की पठाएपछि कार्की क्यामेरासहित विभिन्न सामाग्री लिएर पुस २५ गते पोखराबाट बुढीगंगा आइपुगेका थिए ।

फोन गरेर बोलाएका ढकालले कार्कीलाई बुढीगंगा–१ मा रहेको आर.एन.होटल एण्ड लजको ११४ नम्बर कोठा बुक गरिदिएका थिए । त्यहि कोठामा कार्कीलाई आफ्ना सामान राख्न लगाएपछि इटहरीको प्राइम होटलमा काार्कीलाई लिएर गए र त्यहिं छोडेर ढकाल निस्के । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढकालले कार्कीलाई त्यहाँ छोडेर बुढीगंगाको आर.एन.होटलमा राखेर सामान लिएर फरार भएको देखिएको छ । पुस २५ गतेदेखि आफैंले बोलाएका कार्कीसँग सम्पर्कविहीन ढकाललाई मोरङ प्रहरीले उनकै घरबाट सामानसहित नियन्त्रणमा लिइएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राईले बताउनुभयो ।

ढकालसँगै उनका सहयोगी भट्टराईलाई समेत पक्राउ गरि चोरी कसूरमा अनुसन्धान सुरु गरिएको छ । कार्कीले फोटोग्राफीका लागि ल्याएका सामान समेत ढकाल र भट्टराईको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ढकाल र भट्टराईको योजनामा चोरिएका कार्कीका १४ प्रकारका फोटोग्राफी सामान बरामद गरेको जानकारी दिइएको छ । क्यामरा लाईट ब्याट्री पाँच थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ थान, मेमोरी कार्ड ६ थान, ड्रोन एक थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माईक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान र लाईट एकथान सामान चोरेर उनीहरु फरार रहेका थिए ।

तपाईको प्रतिक्रिया