पहिलो इनिङमा ९४ रनले अघि रहेको अष्ट्रेलियाले समग्रमा १ सय ९७ रनको अग्रता लिएको छ । अष्ट्रेलिया युवा ब्याट्सम्यान मार्नस लाबुसेन ६९ बलमा ६ चौका सहित ४७ रनमा अविजित छन् । स्टिभ स्मिथ ६३ बलमा ३ चौका सहित २९ रनमा अविजित छन् । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले ६८ रनको अविजित साझेदारी गरि सकेका छन् ।

छैटौं ओभरको पाँचौ बलमा मोहम्मद सिराजले ओपनर विल पुकोव्स्कीलाई १० रनमा ऋद्धिमान शाहबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । पहिलो इनिङमा ब्याटिङ गर्नेक्रममा विकेटकिपर ऋषभ पन्तको हातमा चोट लागेपछि उनको स्थान शाहले लिएका थिए । रविचन्द्रन आश्विनले डेभिड वार्नरलाई १३ रनमा एलबिडब्लू आउट गरे ।

पहिलो इनिङमा भारत १००ं.४ ओभरमा २ सय ४४ रनमा अल आउट भएको थियो । समग्रमा भारत पहिलो इनिङमा ९४ रनले पछि परेको थियो । भारतका सुभमन गिल र चेतेश्वर पुजाराले सर्वाधिक ५०–५० रनको योगदान दिए । गिलले १ सय १ बलमा ८ चौका प्रहार गरे । पुजाराले १ सय ७६ बलमा ५ चौका प्रहार गरे ।

रोहित शर्मा २६, अजिक्या रहाने २२, ऋषभ पन्त ३६ र रविन्द्र जडेजाले २४ रनको योगदान दिए । अष्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ र मिचेल स्टार्कले १ विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया १०५.४ ओभरमा ३ सय ३८ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले २ सय २६ बलमा १६ चौका सहित १ सय ३१ रनमा आउट भए । अन्तिम विकेटका रुपमा स्मिथ रविन्द्र जडेजाको उत्कृष्ट डाइरेक्ट थ्रो मा रन आउट भएका थिए । स्मिथको यो टेष्ट करिअरको २७ औं शतक हो ।

७१ औं ओभरमा मार्नस लाबुसेन ९१ रनमा क्याच आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान अजिक्या रहानेबाट क्याच आउट हुँदै लाबुसेन पेभिलिएन फर्केका थिए । शतक नजिक पुगेका लाबुसेनलले १ सय ९६ बलमा ११ चौका प्रहार गरे ।

जडेजालेनै म्याथ्यु वेडलाई ७७ औं ओभरमा जस्प्रित बुमराहबाट १३ रनमा क्याच आउट गरे । जस्प्रित बुमराहले युवा अलराउन्डर क्यामरन ग्रिनलाई शून्यमा एलबिडब्लू र कप्तान टिम पेइनलाई १ रनमा बोल्ड आउट गरे । जडेजाले प्याट कमिन्सलाई शून्यमा बोल्ड आउट गरे । मिचेल स्टार्क ३० बलमा २ चौका र १ छक्का सहित २४ रनको योगदान दिए ।

ओपनर डेभिड वार्नर चौथो ओभरको तेस्रो बलमा मोहम्मद सिराजले चेतेश्वर पुजराबाट ५ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि विल पुकोव्स्की र लाबुसेनले १ सय रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।

डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका पुकोव्स्कीलाई ३५ औं ओभरको दोस्रो बलमा नवदीप सैनीले ६२ रनमा एलबिडब्लू आउट गरेका थिए । पुकोव्स्कीले १ सय १० बलमा ४ चौका प्रहार गरे ।

स्पिनर रविन्द्र जडेजाले १८ ओभरमा ३ मेडन राख्दै ६२ रन खर्चेर ४ विकेट लिए । नवदीप सैनी र जस्प्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराजको नाममा १ विकेट रह्यो । चार टेष्ट खेलको सिरिज दुई खेल सकिँदा १–१ को अवस्थामा छ ।

तपाईको प्रतिक्रिया