काठमाडौं/ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष ठूलो समूहसहित निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

शुक्रबार प्रचण्ड–नेपाल पक्षका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटनविरुद्ध आन्दोलन शुरु गरेका हुन् ।

माइतीघरबाट सबै जना निर्वाचन आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको छ । निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी प्रचण्ड–नेपाल पक्षले जानकारी दिने बताएको छ ।

‘प्रतिनिधसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौं’ भन्ने नारा लेखिएका प्लेकार्डसहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । अहिले प्रधानमन्त्रीको संसद विघटनको कदमको विरोध गर्दै धमाधम आन्दोलनका कार्यक्रम सार्वजनिक भइरहेका छन् ।

तपाईको प्रतिक्रिया