काठमाडौं । चिसो बढेसँगै कोरोना भाइरस र मौसमी फ्लूको सङ्क्रमण बढ्न सक्ने भएकाले सचेत हुन विज्ञले सुझाव दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अपनाइएका स्वास्थ्य मापदण्ड निरन्तर लागू गर्न सके मौसमी फ्लूलगायतका सरुवा रोगबाट पनि जोगिन सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो ।

चिसो बढेसँगै मौसमी फ्लू, बालबालिकामा रोटा भाइरस र वयस्कमा कोरोना भाइरसको सङ्क्रमण देखिन सुरु हुने उहाँले बताउनुभयो ।

चिसो बढ्दै गएपछि समूहमा बस्दा मौसमी फ्लू र कोरोना भाइरस झनै फैलने जोखिम रहेकाले सकेसम्म समूहमा नबस्न, अनिवार्य मास्क लगाउन, बेलाबेला साबुनपानीले मिचिमिची हात धुन, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउन र व्यक्तिगत दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न डाक्टर पुनको सुझाव छ ।

यस्तै तातो झोलिलो खानेकुरा खाने, बाहिरका खानेकुरा नखाने र सरसफाईमा ख्याल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया