विराटनगर / श्रम तथा रोजगार कार्यालय विराटनगरले निजी विद्यालयका शिक्षकहरुलाई तलब उपलब्ध नगराउने विद्यालय सञ्चालकलाई कारबाही गर्ने भएको छ ।जतिसक्दो चाँडो तलब उपलब्ध गराउन निर्देशन दिँदै कार्यालयले तलब नदिए कारबाहीको भागिदार बन्न भनेको छ ।
शिक्षकले चैतदेखिको पारिश्रमिक नपाएको भन्दै कात्तिक २ गते श्रम कार्यालयमा उजुरी दिएका थिए । पीडित शिक्षकहरुको उजुरीपछि कार्यालयका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले शिक्षकहरुले पाउनुपर्ने सुविधा नपाए सञ्चालक तथा पदाधिकारीहरुलाई कानुनअनुसार कारबाही गरिने बताएका छन् ।

उनले शिक्षकलाई तलब नदिए निजी विद्यालय तथा सञ्चालकको बैंक खाता रोक्काको प्रक्रिया सुरु गरिएने बताए ।श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ ले तोकेको सम्पर्ण सेवा सुविधाहरु तुरुन्त उपलब्ध गराउन सञ्जेलले निर्देशन दिएका छन् । लामो समयदेखि तलब सुविधा नपाएपछि संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन मोरङको मुुल ढोकामा शिक्षकहरुले तालाबन्दी गरेका छन् ।

विद्यालय सञ्चालन नभएको कारण देखाउँदै निजी लगानीमा सञ्चालित संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले लामो समयदेखि तलब सुविधा नपाएको भन्दै श्रम कार्यालयमा उजुरी दर्ता गरी तालाबन्दी गरिएको संस्थागत विद्यालय शिक्षकय युनियन मोरङका अध्यक्ष मनोज खनालले बताए । आफ्ना समस्याका विषयका सरकारले बेवास्ता गरेको र प्याब्सनलेसमेत अपमानित गर्नेगरी सर्कुलर गरेकोभन्दै शिक्षकहरुले प्याब्सन मोरङको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्याब्सनका केन्द्रीय अध्यक्ष भएको जिल्लामै शिक्षकलाई अपमानित गरिएको खनालले बताए । शिक्षकहरुले गत वर्षको बाँकी बक्यौतासहित २०७७ वैशाखदेखि असोज महिनासम्मको खाइपाई आएको तलब, भत्ता र दशैं पेश्की लगायत पाउनु पर्ने माग गरेका छन् । उनीहरुको मागको आधारमा श्रम कार्यालयले कारबाही अघि बढाउने भएको हो ।

तपाईको प्रतिक्रिया