ओझेलमा परेको राप्रपाको जन्मसिद्ध पहिचान  हलो पुनः स्थापित भएको छ । केहीलाई अर्कै भैदिएको हुने भन्ने लागेको थियो होला, कसैकसैले हिजो राप्रपाले हलो लिएकोले घाम नलागेको र पानी परेको हास्यास्पद तर्क पनि गरे । हलो लिनु र घाम नलाग्नु एउटा प्राकृतिक संयोग मात्रै थियो ।
नेपाली जनता विभिन्न आस्था र विचारमा विभाजित छन् । जुनसुकै आस्था र विचार भए पनि गएको दशक नेपाली राजनीतिक इतिहास कालमै राजनीतिक दलहरु सबैभन्दा धेरै विभाजनको शिकार भएको दशक हो । राप्रपालाई भन्नै परेन । राप्रपा भन्ने नै फुट्ने र जुट्ने भन्ने परिचय स्थापित भैसकेको छ।
बिचार र कार्यदिशा नै फरक बोकेका कम्युनिस्टहरू समेत मिलेर नेकपा भएको, मधेसवादी दलहरु पनि मिलेर क्षेत्रीयताबाट राष्ट्रिय दलको रुपमा जनता समाजवादी भई रुपान्तरण भैसकेको अबस्थामा देशको नेतृत्व गरिसकेको दल राप्रपा पनि पुन एकता हुनुले नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । एकता नै बल हो भन्ने हाम्रा पुर्खाहरुको नीति विस्तारै राजनीतिक दलहरुमा लागू भएको छ । नेपाली जनताले पनि एकताबद्ध र सामुहिक रुपमा हिड्न सक्ने देश र जनताप्रति प्रतिबद्ध भएको राजनीतिक दललनई मात्रै समर्थन भाव जनाउने गरेको दृष्टान्त छ । नेपालका राजनीतिक दलहरुमा एकाएक भएको एकताले जनतालाई पनि नयाँ उर्जा थपिएको छ भने नेपालमा फुटाउ र राज गर भन्ने नीति अंगालेका शक्तिकेन्द्र एवं शक्तिहरु मर्माहत भएका छन् र जनताको चाहना पनि यस्ता शक्तिकेन्द्रहरु ध्वस्त बनाउनु नै रहेको छ ।
#हलो नेपाली राजनीतिक इतिहासमा राप्रपालाई सफल बनाउने , स्थापित गराउने र शक्तिशाली बनाइ देशको नेतृत्वमा समेत पुर्याउन सफल भएको जनताको माझमा लोकप्रिय चिन्ह हो । यसलाई एकीकृत राप्रपाले पुन: आफ्नो पहिचानको रुपमा स्वामित्व लिनु सुखद पक्ष हो । तर राप्रपाको विगतको इतिहास केलाउदा एकतामा अत्यन्तै भावविह्वल भएर अगाडि बढ्ने जब महाधिवेशन सम्पन्न हुन्छ त्यसपछि शक्ति संघर्ष पुनः उत्कर्षमा पुगेर फुट्ने गरेको छ । यसैले अहिले एकता भएता पनि यो एकतालाई जनताले अझै पुर्ण रुपमा विश्वास गर्ने आधार तय भइसकेको छैन ।
एकताले पुर्णता पाए पछि चुनाव चिन्ह र महाधिवेशन राप्रपाको प्रमुख दुई निर्णय हुन । यी दुई निर्णय नै कसरी कार्यान्वयन हुन्छ, त्यो नै राप्रपाको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण पक्ष हो । सधै महाधिवेशन पछि फुट्ने गरेकोले जनताले राप्रपाको महाधिवेशनसम्म तटस्थ राख्न सक्ने सम्भावना पनि उतिकै रहेको छ । यसैले एक निर्वाचनसम्म अहिलेकै व्यवस्था अनुरुप जाने राप्रपाले घोषणा गरेको खण्डमा जनता आकर्षित भई नयाँ शक्तिको रुपमा उदय हुन सक्ने प्रबल सम्भावना बोकेको छ ।
एउटा राजनीतिक दल आफ्नो नीति, सिद्धान्त र सामुहिक निर्णयको परिपाटीमा चल्ने बिश्वब्यापी परम्परा हुन्छ । तर राप्रपामा धेरै भन्दा धेरै व्यक्तिवादी प्रवृत्ति हावी हुने गरेको छ भने अहिले तत्काल पनि चुनाव चिन्ह चयन पश्चात् नेतृत्वलाई देवत्वकरण गरेको देख्दा सामुहिक हितमा भन्दापनि व्यक्तिगत हितलाई धेरै महत्त्व दिने एकपक्षीय कार्यकर्ता भएको र उनिहरुले नीति, बिचार र सिद्धान्त भन्दा धेरै ब्यक्ति पुज्ने तथा नेतृत्वको सहि र गलत छुट्टाउनु भन्दा जे गर्दासमेत राम्रो गरेको भन्ने भ्रममा राखेकाले नेतृत्वले उचित गति लिन नसकेको अबस्था छ ।
राप्रपाको लागि नेतृत्वको देवत्वकरण क्यान्सरको रुपमा फैलाउन लागेकाले जनताले पनि उपेक्षा गरेको अबस्था रहेको छ ।
अन्तमा एक व्यक्ति मात्रै पुज्ने, व्यक्तिवादी चरित्र र देवत्वकरण प्रवृत्तिको अन्त्य गरेर सम्पुर्णको बराबर सम्मानका साथ सामुहिक हित र देश र जनता लक्षित कार्यक्रम बनाएर सामुहिक रुपमा अगाडि बढेमा जनताको आकर्षणको केन्द्र बन्ने निश्चित प्राय भएकोले हिजो गुमेको आफ्नो पहिचान स्थापित गर्न सफल भएकोमा सम्पूर्ण राप्रपालाई हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको शुभकामना ।
राजिब लामिछाने युवा नेता राप्रपा भक्तपुर

तपाईको प्रतिक्रिया