सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि स्थगित गरिएको थियो।
सचिवालयको बैठकमा कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गरिने सदस्यको विषयमा छलफल हुने बुझिएको छ।

नेकपाभित्रको विवाद समाधानका लागि साउन ३० गते गठित कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझाएको थियो। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनको अध्ययन गरिसकेको भए पनि सचिवालयमा छलफल हुन सकेको छैन।

अर्कोतिर, अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक सुविधा प्रयोग गरेको ६ महिना बित्नै लागेको छ। उनलाई मन्त्रीमा निरन्तरता दिनको लागि राष्ट्रिय सभामा पनि निरन्तरता दिनुपर्ने बाध्यताका बीच सचिवालय बैठक बसिरहेको छ। खतिवडा गत फागुनसम्म राष्ट्रिय सभा सदस्य थिए। प्रधानमन्त्री ओली उनैलाई निरन्तरता दिने पक्षमा छन्।

त्यस्तै, गत फागुन १४ गतेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। त्यसको कार्यान्वयन हुनुपर्ने उनी र उनी पक्षको माग छ।

तपाईको प्रतिक्रिया