काठमाडौं । देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का, सिराहा, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको हो ।

आइतबार मात्रै केन्द्रीय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले देशभरका ७१ कारागारमध्ये सात वटामा संक्रमण देखिएको बताए । उनका अनुसार ती सात कारागारमा रहेका कैदी बन्दी, सुरक्षाकर्मी र कर्मचारीमध्ये ६ सय ५८ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार थप भएका ३५ कैदीबन्दीसहित सो संख्या १ सय ६६ पुगेको छ ।

देशभरका कारागारमा हाल २४ हजार १ सय ६३ कैदी बन्दी छन् । तर, देशभर १६ हजार कैदी बन्दी मात्रै राख्न सक्ने क्षमता छ । कतिपय स्थानका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी राखिएका छन् । कारागार प्रशासनले कारागारभित्र कैदी बन्दीहरूलाई सामाजिक दुरी कायम गरेर राख्नै समस्या भएको बताउँदै आएको छ ।

कैदी बन्दीहरूसँगको पारिवारिक भेटघाट बन्द गराएपछि कारागार व्यवस्थापनले हरेक कारागारमा परिवारसँग सम्पर्क गर्न भन्दै टेलिफोन संख्या बढाइदिएको छ । हाल केन्द्रीय कारागारमा मात्रै कैदी बन्दीका लागि २५ सेट टेलिफोन राखिएका छन् । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया