मोरङ । भ्रष्टाचार विरोधी अभियानमा लागिपरेका मोरङको सृुन्दरहरैंचाका युवाहरुले कोरोना संक्रमणको जोखिम क्षेत्रहरुमा सेनिटाइजेशनको अभियान सुरु गरेका छन् ।
पूर्वमन्त्री तथा मोरङ ६ का सांसद् लालबाबु पण्डितको सहयोगमा उनीहरुले सेनिटाइजेशनको अभियान सुरु गरेका हुन् ।
केही दिन अघिसम्म नगरमा भएका विकासका काममा भ्रष्टचारको आशंका गर्दै खवरदारी गर्ने कार्यमा संलग्न भएका मोरङको सुन्दरहरैंचाका युवाहरु यतिबेला कोरोनाको जोखिम न्यूनिकरणको अभियानमा लागिपरेका छन् । खासगरि सुन्दरहरैंचा नगरपालिकामा समेत समुदायस्तरमा नै दिन–दिनै कोरोना संक्रमितहरु थपिंदै जान थालेपछि सो जोखिम कम गर्न अभियान सुरु गरेको अभियन्ता जयप्रकाश रायमाझीले बताए ।
सुन्दरहरैंचा नगरपालिकामा समेत लकडाउनको अवस्था भएपनि विभिन्न माध्यमबाट कोरोनाको संक्रमण फैलिने जेखिम भएकाले सो जेखिम कम गर्न पूर्वमन्त्री लालबाबु पण्डितको सहयोग लिएर सेनिटाइजेशनको काम थालेको उनीहरुको भनाइ छ । सो टोलीले २ दिनमा सुन्दरहरैंचा ७ स्थित गछिया प्रहरी चौकी, सुन्दरहरैंचा–५ डिपुटोलको सुकुम्बासी बस्ती, बाँसबारी चोक, सुन्दरहरैंचा ४ को बलिया चोक तथा सोही वडाहरुमा रहेका कोरोना संक्रमितको घर घरमा समेत पुगेर सेनिटाइजेशनको काम गरेका छन् । यसरी सेनिटाइजेशन गरेर छरछिमेकमा संक्रमणको जोखिम कम गरि दिएको भन्दै संक्रमितका परिवार सूर्यप्रसाद कट्टेलले धन्यवाद दिएका छन् ।
कोरोना संक्रमणको जेखिमका कारण प्राय सबै मानिसहरु घरमै रहेका बेला सुन्दरहरैंचाका जुझारु युवाहरु भने जोखिम मोलेर कोरोना संक्रमणलाई परास्त गर्न लागिपरेका छन् । खासगरि अत्यावश्यक सेवाका ठाउँहरुमा लकडाउनको अवस्थामा पनि मानिसहरुको बढी आवत जावत हुने भएकाले त्यहाँबाट संक्रमण नफैलियोस् भनेर सेनिटाइजेशनको अभियान सञ्चालन गरिएको हो । समस्या परेका बेला समाजका लागि युवाहरु अघि सर्नुपर्छ भन्ने सन्देशका साथ जोखिम मोलेर भएपनि काममा खटिएको घनश्याम घले गुरुङले बताए ।
भ्रष्टाचार विरोधी अभियानमा लागिपरेका मोरङको सुन्दरहरैंचाका युवाहरुले आफ्ना सांसद्सँग पलह गरेर कोरोना संक्रमणको जोखिम कम गर्नुका साथै संक्रमितको घर घरमा पुगेर हौसला बढाउने काम गरिरहेका छन् । जसबाट युवाहरु विकासका काममा औंला उठाउने मात्र नभएर परेको बेला समाजका लागि ज्यान जोखिममा पारेर भएपनि योगदान दिन पछि पर्दैनन् भन्ने पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया