काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मुख्यमन्त्री परिवर्तन नहुने संकेत गर्नुभएको छ । शनिबार प्राइम टेलिभिजनको एक अन्र्तवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मुख्मन्त्री परिवर्तन नहुने संकेत गरेका हुन् ।  अहिले वाग्मती प्रदेश र प्रदेश एकको मुख्यमन्त्री परिवर्तन हुने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले यस्तो संकेत गरेका हुन् ।

१ नम्बर र वागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने चर्चा व्यापक छ । के यो सत्य हो ? भन्ने प्रश्नको घुमाउरो जवाफ दिँदै  ‘स्थानीय तहको निर्वाचन हुन डेढ वर्ष जति बाँकी छ । आमनिर्वाचन भएपछि प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि परिवर्तन हुनसक्छ,’ प्रधानमन्त्री ओलीले मुख्यमन्त्री परिवर्तनबारे राखिएको जिज्ञासाको जवाफ दिँदै भनेका छन् ।
खासगरी वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग सत्तारूढ नेकपाकै सांसदहरू रुष्ट छन् । शक्तिकेन्द्रबाहेक अरू कसैको कुरा नसुन्ने आरोप उनीमाथि लागेको छ ।

स्रोतका अनुसार पौडेलको मन्त्रिपरिषद्कै सदस्यहरूले त सामूहिक राजीनामा दिने चेतावनी नै दिइसकेका छन् । नेकपा प्रदेशसभाका ८० सांसदमध्ये ६० भन्दा बढीले मुख्यमन्त्री पौडेलको बर्खास्ती माग गर्दै हस्ताक्षर संकलन गरिसकेका छन् । यसरी संकलित हस्ताक्षरको पहिलो नम्बरमा अष्टलक्ष्मी शाक्य, दोस्रोमा राजेन्द्र पाण्डे र तेस्रोमा डोरमणिकै मन्त्रिपरिषदका सदस्य आन्तरिक मामिला मन्त्री शालिकराम जम्कटेलले हस्ताक्षर गरेको बताइन्छ । उक्त हस्ताक्षर बोकेर अहिले एउटा समूह प्रधानमन्त्रीनिवास बालुवाटार र प्रचण्डनिवास खुमलटार धार्इरहेका छन् ।

मुख्यमन्त्री डोरमणिविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस गर्न नपरोस् भन्ने अभिप्रायले हस्ताक्षर संकलन गरेर दबाब बढाए पनि प्रधानमन्त्री ओली डोरमणिकै पक्षमा खुल्ने संकेत देखिएकोले वागमती प्रदेशमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्ने कतिपयको अनुमान छ ।

नेकपाका बागमती प्रदेश एक सांसदका अनुसार डोरमणिका मन्त्रिपरिषद्का सदस्यले सामूहिक राजीनामा र सांसदले अविश्वासको प्रस्ताव ल्याउने चेतावनीबीच प्रधानमन्त्रीले बेवास्ता गरेमा त्यसले नेकपाको वागमती प्रदेशमा गम्भीर अवस्था सिर्जना हुनेछ,’

तपाईको प्रतिक्रिया