एक आपसमा नि:स्वार्थ साथ र सहयोग अनि मिठा भावनाहरू संगाल्दै अगाडि बढ्ने मानिसहरूको समूहलाई नै समाज भनिन्छ। सायद यसैका लागि समाजको निर्माण भयो। तर अहिलेको जोखिमपुर्ण स्थितिमा आपत विपतमा सहयोग गर्दै, एक आपसलाई प्रोत्साहन गर्दै अघि बढ्नुको साट्टो हाम्रो भाईचारा हराउदै गएको देखिन्छ। कुरा : कोरोना संक्रमण र संक्रमितलाई गर्ने व्यवहार बारे। अहिले समाजमा कोरोना संक्रमितको मनोबल बढाउदै प्रोत्साहन गर्नुको साट्टो अपहेलना गरेको देखिदै आएको छ ।उनीहरूलाई हेला गर्ने, घरमा ताल्चै लगाइदिने जस्ता समाजबाटै बहिष्कार गर्ने विभिन्न क्रियाकलाप गरिदै आएको छ। यही विषयमा कलालय, इटहरीले सन्देशमुलक भिडियो आज बेलुका कलालय, इटहरी पेजबाट सार्वजनिक गरेका छन्। । भिडियोमा अपहेलनाको डरले लक्षण देखिएता पनि कोरोना संक्रमितलाई समाजले गर्ने ब्यवहारका कारण भन्न नसक्ने र चेकजाच गर्न पनि डराइरहेको कुरा भिडियो मार्फत देखाइएको छ। त्यस्तै “यो बिमार हो, अपराध हैन” त्यसैले कोरोना संक्रमितको मनोबल बढाउदै प्रोत्साहन गरौं भन्ने जनचेतना फैलाउन खोजिएको छ। कलालय, इटहरीले तयार पारेको यस भिडियोका लेखक सुगम दुलाल हुन् भने भिडियोमा सुगम दुलाल, अनुजा पौडेल र प्रजल दुलालको अभिनय रहेको छ। कलालयले विगत लामो समयदेखि ईटहरीमा रंगमञ्चको प्रवधन गर्दै विभिन्न नाटकहरू मञ्चन गर्दै आएको छ। यस लकडाउनमा पनि कसरी सहज तरिकाले सतर्कताका साथ केही काम गर्ने भन्ने सोच्दै गर्दा यो सानो कन्सेप्ट निक्लिएको कला लयका अध्यक्ष सोनु जयन्ती बताउँछन् । त्यस्तै अब सावधानीका साथ कसरी कलालयका नयाँ योजनाहरू बारे काम अघि बढाउने भन्ने छलफल चलिरहेको निर्देशक प्रज्वल पराजुलीले बताए।

 

तपाईको प्रतिक्रिया