मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ। तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका- ­४ निवासी ६८ वर्षीय वृद्धमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो। स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए।

उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्को काम सुरु गरिएको प्रमुख यादवको भनाइ छ। योसँगै सिरहामा कोरोना संक्रमण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। यसअघि सिरहाको गोलबजार नगरपालिका- १२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका-­१ का ४० वर्षीय युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो। रासस

तपाईको प्रतिक्रिया