धनकुटा । पर्यापर्यटनको विकासका लागि महालक्ष्मी नगरपालिकामा एक आर्कषक बनझाक्रि पार्क निर्माण गरिएको छ ।
प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको २ करोड ८३ लाख ७९ हजार ६ सय ५५ रुपैयाँको लगानीमा उक्त पार्क निर्माण गरिएको हो ।
पुर्बाधार विकास नहुदा पर्यटकीय सम्भाबना बोकेका हरियाँ र आर्कषक डाँडाहरु ओझेलमा पर्ने गरेका छन् । उक्त ओझेलमा रहेको महालक्ष्मी नगरपालिका वडा नम्वर ६ र ७ स्थित गढीडाडामा नगरपालिकाले नमुना वनझाक्रि पार्क निर्माण गरेको जनाएको छ ।
उक्त पार्कमा वनझाक्रीको मूर्ति, पर्यटकका लागि करिब एघार सय खुड्किला, रेलिङसहितको सिढी र विश्रामस्थलका साथमा सौचालय समेतको पुर्वाधार निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषण गराउन लागिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताउनु भयो ।
पार्क निर्माणसँगै नगरपालिकाले पर्यटन क्षेत्रमा एउटा ठूलो फड्को मार्ने देखिन्छ । पार्कबाट अरुण नदि आसपासका फाटिला क्षेत्र, बिश्वकै होचो अरुण उपत्यका, मकालु हिमश्रृखलालगायतका मनोरम दृष्य सहजै देख्न सकिन्छ ।
उक्त पार्क गत ०७६ साउन १९ गतेबाट थालनि गरि आगामी माघ १९ गते सम्पन्न हुने सम्झौतामा उल्लेख भएता पनि सम्झौता अबधीको ७ महिना अगावै पार्क निर्माण गरिएको निर्माणको जिम्मा पाएका वाई.पि.आर.निर्माण सेवा प्रा.लि.का सञ्चालक महेन्द्र निरौलाले बताउनु भयो ।
उक्त पार्क स्थलमा परापूर्वकालमा वनझाक्रीहरु घुम्ने गरेको किम्बदन्ती रहेकोले वन झाक्री पार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया