मोरङ । मोरङको एउटै उद्योगका ५१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । बुढीगंगा गाउँपालिका १ स्थित रहेको आरती स्ट्रिप्स प्रालिमा कार्यरत ५१ जना मजदुर र कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै उद्योगमा काम गर्ने कर्मचारी तथा मजदुरको संख्या ५१ पुगेको हो ।

संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेका छन् । हाल उद्योग सिल गरेर संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ । केही कर्मचारी होम आइसोलेसनमा छन् । संक्रमण पुष्टि भएकामध्ये दुई जना भने सम्पर्कबिहीन छन् । सम्पर्कबिहीन भएका संक्रमित भारतीय नागरिक भएका कारण फरार भएकाहरु भारत नै गएको हुनसक्ने आशंका गरिएको छ ।

भागेकाहरुको पनि स्वाब संकलन गरिएको थियो, तर रिपोर्ट आउनुअघि नै उनीहरु भागेका छन् । कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको उद्योगमा काम गर्ने अधिकांश कामदार भारतीय नागरिक छन् । लकडाउनमा भारतबाट उद्योगमा आउने मालबाहक गाडीसँगै कामदार ल्याएका कारण कोरोना फैलिएको हुनसक्ने स्थानिय सरकारको आशंका छ ।

तपाईको प्रतिक्रिया