इटहरी/ छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ । नेपाली पत्रकारिता क्षेत्रले इतिहासमै सवैभन्दा कठिन आर्थिक संकट झेलिरहेको छ। यस्तो परिस्थितीमा सञ्चारकर्मीहरुले जोखिम मोलेर आम नागरिकलाई सुसूचित गर्ने कार्यमा अहोरात्र खटिएका छन् ।
यसैसन्दर्भमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा मंगलबार छलफल कार्यक्रम प्रदेश नं. १ को इटहरीमा भयो ।
छलफल कार्यक्रममा सहभागीले आफ्ना भनाई राखेपछि महासंघका केन्द्रीय महासचिब रमेश विष्टले सवैको अभिभावक सरकार भएपनि मिडियाप्रति चरम अनुदार भएकाले गर्दा सञ्चार गृह र पत्रकार टुहुरा जस्तो भएको बताए । ‘सञ्चार माध्यम पनि कोरोनाबिरुद्दको मोर्चामा सहभागी भएको भनेर सरकारले कुनै पनि ढंगले व्यवहार गरेन,’ उनले भने, ‘जसले गर्दा हामी एकदमै कमजोर र रक्षात्मक हुनु परेको छ।’ उनले सरकारले मिडियाले आलोचना गर्दा र प्रश्न उठाउदा चित नबुझाएर चरम अनुदार भएको टिप्पणी गरे ।
‘सरकारसँगै प्रतिपक्षसहित राजनीतिक नेतृत्वले मिडियालाई फरक ढंगले व्यवहार गरे,’ उनले भने, ‘केही स्थानीय तह र प्रदेश सरकारले मिडियाप्रति सकारात्मक व्यवहार गरेपनि केन्द्रबाट हुनै सकेन् ।’ महासंघ केन्द्रले पटक–पटक दबाब दिँदा पनि सरकारले चाँसो नदिएको उनले गुनासो गरे ।
विष्टले ठूला लगानीका मिडिया मूनाफा कमाउन आएपनि साना लगानीका मिडियाले लोकतन्त्र र प्रेस स्वतन्त्रताका निम्ति भूमिका खेलेकाले गर्दा प्रेस काउन्सिलबाट अहिलेको विषम परिस्थितीमा अंक नपुगेपनि स्वतः नवीकरण हुनुपर्ने बताए । ‘यदि स्वतः नवीकरण नभए महासंघले काउन्सिलमा तालाबन्दी गर्नेछ,’ उनले भने, ‘महासंघ पनि साना लगानीका मिडियालाई प्रोत्साहन गर्न लाग्नेछ ।’
अग्रज पत्रकार भवानी बरालले साना लगानीका स्वरोजगारमूलक मिडियालाईं पुर्नस्थापित गर्न नयाँ चिन्तनका साथ लाग्नुपर्ने बताए । विपद्का बेला पत्रकारिता गर्न एकापसमा छलफल पनि आवश्यक रहेको बताए । ‘२०७२ सालमा भूकम्पका बेला काठमाडौ र पश्चिमका पत्रकारलाई विपद्का बेला पत्रकारिता गर्ने थोरै अनुभव भएपनि पूर्वका पत्रकारलाई छैन,’ उनले भने, ‘अझ विश्व महामारीको बेला कसरी पत्रकारिता गर्ने भन्ने सवालमा कसैलाई अनुभव नै छैन्, जसले गर्दा छलफल गर्ने आवश्यक छ।’ उनले महामारीका बेला पत्रकारिता गर्ने उपायका निम्ति तालिम पनि आवश्यक भएको जनाए ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्णबिनोद लम्सालले अहिलेको महामारीका बेला पत्रकारिता गर्दा अप्नाउनुपर्ने उपायको सम्बन्धमा तालिम आवश्यक भएको औल्याए । ‘तालिम लिएपनि केही परिवर्तन हुनेछ, जसले गर्दा अहिलेको परिस्थितीमा हुनुपर्छ,’ उनले भने ।
जिल्ला पूर्व अध्यक्ष कृष्ण अधिकारीले अहिले श्रमजीवी पत्रकारलाई बढी पीडा भएकाले गर्दा उनीहरुका निम्ति विशेष सहयोग हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।
सो क्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार केशव घिमिरेले मिडियालाई बचाउन राज्य नै लाग्नुपर्ने बताए । ‘सानोतिनो प्रयासले व्यक्तिगत त बाँचिएला, मिडिया बचाउन सकिदैन,’ उनले भने । संकटका बेला पत्रकारिता गर्ने उपायबारे पनि तालिम पनि आवश्यक भएको पनि उनले जनाए ।
अग्रज पत्रकार शालिग्राम पाण्डेले श्रमजीवी पत्रकार ऐन लागु गर्न सके पत्रकारका धेरै समस्या समाधान हुने बताए । उनले संख्यात्मकभन्दा पनि गुणात्मक उत्पादनमा जोड दिनुपर्ने बताए । ‘सवैमा पत्रकारको गुणस्तरीयता वृद्दि गर्ने सोच जागोस्,’ उनले भने, ‘पत्रकार सक्षम भएपछि धेरै समस्या नै हुँदैन् ।’
पत्रकार अर्जुन उप्रेतीले अहिलेको परिस्थितीमा पत्रकारको गुमेको रोजगार पुर्नस्थापित गर्न सवैको ध्यान केन्द्रित हुनुपर्ने बताए । सो क्रममा प्रेस संगठन सुनसरी जिल्ला अध्यक्ष श्रीशिसा राईले संकटको यस वर्ष महासंघको सदस्यतामा पुरै छुट र नयाँ सदस्यताको हकमा पनि छुट दिने व्यवस्था गर्न माग गरे । उनले मिडिया र पत्रकारलाई राहत दिने सवालमा पनि महासंघ गम्भीर भएर लाग्नुपर्ने बताए ।
छलफल कार्यक्रममा प्रेस यूनियन सुनसरी अध्यक्ष पवन अधिकारीले चाहे राष्ट्रिय होस् वा स्थानीय सञ्चार माध्यममा बचाउनका निम्ति महासंघ केन्द्रले सरकारलाई दबाब दिनुपर्ने बताए । फोनिज सुनसरी जिल्ला अध्यक्ष धिरेन्द्र चौधरीले अहिलेको महामारीका बेला पत्रकारदेखि सर्वसाधारण कोरोना सार्ने त्रास रहेकाले गर्दा पत्रकारले सर्तक भएर आफूसँगै अरुलाई बचाउने ढंगले होसियारीपूर्वक काम गर्न सुल्झाए ।
कार्यक्रमको विषय प्रवेश गर्ने क्रममा सुनसरी जिल्ला महासंघ अध्यक्ष अमर खड्काले कोरोना महामारीको बेला जिल्लाले गरेका कार्य र केन्द्रले अहिलेको महामारीको बेला सञ्चारगृह केन्द्रित पत्रकार तथा सञ्चारकर्मीका लागि समाचार लेखन सिपसम्बन्धी आधारभूत तालिमको बारेमा प्रस्ट्याएका थिए ।

तपाईको प्रतिक्रिया