धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा एक युवाको मृत्यु भएको छ ।
बुधबार राति करिब १० बजे उनको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले सिकिस्त उनको उपचारका क्रममा मृत्यु भएको बताए ।
कोरोना भाइरस संक्रमणका कारण सिरहाका युवकको मृत्यु भएको हो । गोलबजार नगरपालिका–१२ का २५ वर्षीय युवकको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनमा गत १९ गते कोरोना परीक्षण गरिएको उनले जानकारी दिए । ती युवकमा बुधबार कोरोनाको संक्रमण पुष्टि भएको थियो । ‘समन्वय गरेर नै उनलाई ल्याइएको थियो, उपचारको क्रममा मृत्यु भयो’, प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले भने ।
मृगौलाको समस्या रहेका ती युवा नियमित डाइलासिस गराउँदै आएका थिए । उनी दुई वर्षदेखि हप्ताको दुईदिन डाइलासिस गर्दै आएका बिरामी थिए । ‘दुई वर्षदेखि मृगौलाको समस्या रहेछ, यहाँ पनि डाइलासिस गरेर उपचार गर्दागर्दा मृत्यु भएको हो’, उनले भने ।
डाइलासिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरेको थियो । पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई धरानमा उपचारका लागि पठाइएको थियो । योसँगै प्रतिष्ठानमै मृत्यु हुनेको संख्या चार पुगेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया