मनसुनी वर्षा सुरु भएसँगै कैलालीका हुरीपीडितको विचल्ली भएको छ । गत जेठमा आएको हावाहुरीका कारण वासविहीन बनेका उनीहरु समयमै राहत नपाउँदा वर्षाको समयमा थप समस्यामा परेका हुन् ।

जेठ २३ गते आएको हावाहुरीले बढी क्षति पुगेकोे धनगढी उपमहानगर र कैलारी गाउँपालिकामा अहिलेसम्म राहत बाँड्ने काम सुरु भएको छैन । घटना भएको २० दिन पुग्दासम्म अहिलेसम्म पनि त्रिपाल पाउन सकेका छैनन् ।

राहत वितरणमा सरोकारवाला पक्षको चासो नहुँदा उनीहरु आफन्तको घरमा बस्न बाध्य छन् । हुरीले छाना उडाएका घरमा पानी परेपछि बाँकी अन्न लत्ताकपडा बचाउन गाह्रो भएको उनीहरुको गुनासो छ । आफन्तको घरमा बसेर ज्यान जोगाए पनि राहत र क्षतिपूर्र्ति दिन अहिलेसम्म कोही नआएको पीडितहरुको दुखेसो छ ।

हावाहुरीका कारण जिल्लाका ९ हजार ७ सय ४९ घरमा क्षति पुगेको छ । जिल्लामा हालसम्म गोदावरी, लम्की चुहा, टीकापुर र घोडाघोडी नगरपालिकामा ९३ लाख रुपैयाँ बराबरको राहत बाँडिएको र प्रदेश सरकारले उपलब्ध गराउने राहत अझै नआएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा बताउँछन् ।

सबैभन्दा बढी क्षति पुगेको धनगढी उपमहानगरपालिकामा राहत नपाउँदा स्थानीयको बिचल्ली भएको छ ।

उता, पीडितको लगत संकलनको काम नसकिएकाले राहत वितरणमा ढिलाइ भएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडको भनाइ छ ।

हुरीले तहसनहस पारेलगत्तै फेरि वर्षाले समेत दुख दिँदा उनीहरुको पीडामाथि पीडा थपिएको छ । यसमा सरकारले गम्भीरतापूर्वक काम गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया