इटहरी । निजी क्षेत्रको प्रतिनिधिमुलक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु यतिबेला आफ्नो नयाँ नेतृत्व चयन गर्ने चटारोमा व्यस्त छन् । यसै सिलसिलामा प्रदेश नम्बर १ मा मोरङ व्यापार संघ विराटनगर र सुनसरी उद्योग वाणिज्य संघ धरानमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भइसेकेको छ । यसै सिलसिलामा सदस्य संख्याका हिसाबले प्रदेश नम्बर १ कै सबैभन्दा ठूलो उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि आगामी असार १४ गते नयाँ नेतृत्व चयनको तरखरमा छ ।

उद्योग वाणिज्य संघ इटहरीको आसन्न निर्वाचनमा संघको वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष शैलेष कुमार विष्ट र कार्यसमिति सदस्य भीमबहादुर पौडेल आ–आफ्नो प्यानलसहित संघको भावी नेतृत्व हत्याउने उद्देश्यका साथ चुनावी मैदानमा छन् । हाल दुवै प्यानल उद्योगी व्यवसायीहरुका उद्योग प्रतिष्ठानमा आफ्नो समूहलाई भोट माग्न व्यस्त छन् । अध्यक्ष पदका प्रत्यासी विष्टलाई सत्तारुढ नेकपाको तथा पौडेललाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राप्रपाको दह्रो समर्थन छ । इटहरी वडा नं. ६ स्थायी बसोबास भई इटहरीमा न्यू मोरङ छापाखना अफसेट प्रेस सञ्चालन गरिरहेका दिवस पोखरेल इटहरी उपमहानगरपालिकाभित्रका उद्योगी व्यवसायीहरु माझ लोकप्रिय नाम हो ।

उद्योग वाणिज्य संघ इटहरीमा तीन कार्यकाल बिताएर महासचिव जस्तो जिम्मेवार भूमिकामा समेत सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका उनी आसन्न निर्वाचनमा भीमबहादुर पौडेलको प्यानलबाट उद्योगतर्फबाट सदस्य पदको उम्मेद्वार बनेका छन् । उद्योग वाणिज्य संघ इटहरीमा पहिलो कार्यकालदेखि हालसम्म लोकप्रिय मतका साथ कार्यसमिति सदस्य निर्वाचित भइरहेका उनी उद्योगी व्यवसायीहरुका हकहितका पक्षमा क्रियाशील छन् । नागरिक समाज सुनसरीको उपाध्यक्ष, र सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीको अध्यक्ष पदमा समेत कार्यरत पोखरेलले लोकप्रिय छन् ।

आफ्नै पहल तथा क्रियाशीलतामा इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरमा सर्पले टोकेका बिरामीहरुको उपचारको लागि नेपाली सेनासँगको समन्वयमा अस्पताल निर्माण गरी १० हजारभन्दा बढीको ज्यान बचाउने कार्यमा सहकार्य गरेका दिवस पोखरेल आसन्न निर्वाचनमा पनि लोकप्रिय मतका साथ निर्वाचित हुने प्रबल सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया