दुर्लभ एकसिङ्गे गैँडाको एक प्रमुख वासस्थानको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको मृत्यु हुने क्रम बढेपछि अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा त्यस्का कारणबारे एक विस्तृत अध्ययन हुन लागेको छ।

सन् २०१५ को गैँडा गणनाले नेपालको तराई क्षेत्रका चार राष्ट्रिय निकुञ्जमा गैँडाको कुल सङ्ख्या ६४५ देखाएको थियो। तीमध्ये चितवनमा सर्वाधिक ६०५ वटा गैँडा थिए।

तर गैँडाको सङ्ख्या सर्वाधिक रहेको चितवनमा केही वर्षयता गैँडाको मृत्यु हुने क्रम बढेपछि वन्यजन्तु अधिकारी तथा विज्ञहरू गैँडाको मृत्युको कारण पत्ता लगाउँदै त्यो प्रजातिको दीर्घकालीन संरक्षणका उपायबारे अध्ययन गर्न लागेका छन्।

चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५-७६ का ११ महिनामा चितवन निकुञ्जमा ४० वटा गैँडाको मृत्यु भइसकेको छ। अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा त्यो सङ्ख्या २६ थियो।

‘शून्य चोरीसिकार’

चितवन निकुञ्जमा विगत तीन वर्षयता चोरी सिकारको क्रममा कुनै गैँडा नमरेको निकुञ्जका अधिकारीहरू बताउँछन्। यस्तो बेला गैँडाको मृत्यु हुने क्रम किन बढ्यो भनेर संरक्षणविद् तथा प्रकृतिप्रेमीहरू चिन्तित भएका हुन्।

प्रश्न उठेका छन्: के ती सबै गैँडा कालगतिले नै मरेका हुन्? यदि होइन भने यति धेरै सङ्ख्यामा गैँडाहरू के कारणले मरिरहेका छन्?

गैँडा र अन्य दुर्लभ वन्यजन्तु संरक्षणमा खटिएका सरकारी अधिकारी तथ विज्ञको भनाइ विश्लेषण गर्दा चितवनमा हालैका वर्षहरूमा गैँडाको मृत्यु हुने क्रम उच्च हुनुका विभिन्न कारणहरू छन्। ती र अन्य सम्भावित कारणबारे विज्ञहरूले विस्तृत अध्ययन गर्न बाँकी नै छ।

तर मूलरूपमा उनीहरूले गैँडाको मृत्यु हुने पाँच कारण औँल्याएका छन्।

प्राकृतिक विपद्

डढेलो, बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्को मारमा मानिसहरू मात्र परिरहेका छैनन्। हालैका वर्षहरूमा डढेलो र बाढीका कारण निकुञ्ज क्षेत्रमा कैयौँ वन्यजन्तुहरूको मृत्यु भएको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रकाशनहरूमा पढ्न सकिन्छ। उदाहरणको लागि २०७४ सालको बर्खामा राप्ती र नारायणीजस्ता नदीमा आएको बाढीले चितवनका कम्तीमा नौवटा गैँडा बगायो।

“बाढीले अन्य वन्यजन्तुहरू पनि बगायो होला, तर हामीले नेपालबाट बग्दैबग्दै गण्डक बाँधपारिपट्टि भारतीय भूभाग पुगेका गैँडालाई निकै दु:ख गरेर फिर्ता ल्यायौँ,” चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) ‍वेदकुमार ढकालले बीबीसीसँग भने।

लगभग त्यही बेला विभिन्न स्थानमा तीन वटा गैँडा मरेको स्थानमा समेत भेटिए।

ढकाल र अन्य संरक्षणकर्मीको डर यस्तो छ – २०७४ सालको बाढी र अन्य प्राकृतिक विपद्का बेला केही गैँडा मरेका पनि हुन सक्छन्। तर त्यसको प्रमाण तत्कालै भेटिन्न।

उनी भन्छन्, “बाढीले बगाएर नवलपरासीको त्रिवेणीभन्दा तल पुगेर गैँडा मरेको रहेछ भन्ने त थाहा नहुन पनि सक्छ। कहिलेकाहीँ शव वा कङ्काल निकै ढिलो मात्रै भेटिन्छ। कहिले त भेट्दै नभेटिन पनि सक्छ।”

२) आपसी द्वन्द्व

गैँडाहरू पर्याप्त पानी भएका नदी वा ताल किनारका घाँसेचउर वा चरनक्षेत्रमा बस्न रुचाउँछन्। तर चितवनमा सबैतिर गैँडाको विचरणका लागि त्यस्ता स्थान छैन।

नौ सय ५२ वर्ग किलोमिटर क्षेत्रफल रहेको चितवन निकुञ्ज पश्चिममा नारायणी नदीदेखि पूर्वतिर मनहरीदेखि ठोरी क्षेत्रसम्म फैलिएको छ।

ढकाल भन्छन्, “एकातिर माइकेन्या (तीव्र गतिमा फैलिने एक प्रकारको मिचाह झार) र जलकुम्भीजस्ता झारले घाँसेमैदान नासिरहेको छ भने अर्कोतिर पानीका स्रोतहरू सुकिरहेका छन्।”

त्यसैले गैँडाको सङ्ख्या घाँसेचउर र तालतलैया तथा राप्ती तथा नारायणी नदी बग्ने पश्चिम चितवनका टेम्पल टाइगर सुकिभार, अमलटारीजस्ता सीमित स्थानमा केन्द्रित हुन थालेको पाइएको छ।

ढकाल भन्छन्, “त्यसले गर्दा खासगरी प्रजनन र अन्य समयमा भाले गैँडाहरूबीच घमासान द्वन्द्व हुने गर्छ। त्यस्तो बेला पनि आपसी द्वन्द्व वा भिडन्तका कारण गैँडाको ज्यानै समेत जाने गरेको छ।”

“केही गैँडाको ज्यान त्यसरी आपसमा लडेका कारण पनि गएको छ।”

३) अन्य वन्यजन्तुको आक्रमण

पहिला खाग र अन्य अङ्गका लागि गैँडाको चोरीसिकार हुनेगर्थ्यो।

चोरीसिकारमा लाग्ने मानिस गैँडाको प्रमुख शत्रु थियो। चोरीसिकारकै कारण सन् १९५० तिर करिब १,००० को सङ्ख्यामा रहेका गैँडा सन् १९७० तिर १०० मा झरे।

माओवादी सशस्त्र द्वन्द्व चर्किएका बेला निकुञ्जको सुरक्षाका लागि खटिएका सैनिकका टोली अन्यत्र खटाइँदा त्यो क्रम फेरि बढ्न पुग्यो। तर द्वन्द्वको सकिएपछि चोरीसिकार पुन: नियन्त्रण हुन पुग्यो। पछिल्ला केही वर्षदेखि निकुञ्जभित्र चोरीसिकार “शून्यमा झरेको” भन्दै संरक्षण अधिकारीहरू गर्व गर्दछन्।

तर त्यस्को अर्थ गैँडालाई कसैले आक्रमण गर्दैन भन्ने होइन। निकुञ्ज बाहिरका क्षेत्रमा पुग्ने गरेका गैँडा अझै पनि सिकारको जोखिम रहन सक्छन्।

निकुञ्जभित्र विचरण गर्ने गैँडा बेलाबेलामा बाघ र गोहीजस्ता जन्तुको आक्रमणमा परिरहन्छन्। ढकाल भन्छन्, “आक्रमणको जोखिम ठूलाभन्दा गैँडाका बच्चा (केटाकेटी) लाई बढी हुने गर्छ। हालै हामीले बाघले गैँडाको बच्चा खाइदिएको र मगर गोहीले गैँडाको बच्चा खाइदिएको प्रमाण फेला पारेका छौँ।”

तर हालैको वर्षमा ठ्याक्कै कतिवटा गैँडाका केटाकेटी अरू जीवजन्तुको आक्रमणमा परे भन्ने सङ्ख्या स्पष्ट छैन।

अज्ञात कारण

चितवनको नदीकिनार वा ताल क्षेत्रमा संरक्षणकर्मीहरूले कहिलेकाहीँ गैँडाको शव वा कङ्काल फेला पार्छन्।

ढकाल भन्छन्, “हामीले हालसालै देवी तालमा एउटा कङ्काल फेला पार्‍यौँ। कहिले कुनै घोलमा गैँडा मरेको भेटिन्छ। त्यस्तो अवस्थामा गैँडा के कारणले मरेको हो थाहा हुँदैन। हामी त्यस्तो बेला मृत्युको कारणलाई अज्ञात मान्छौँ।”

चितवन निकुञ्जवरपर वन्यजन्तु विचरण गर्ने मध्यवर्ती क्षेत्र पनि रहेको छ।

त्यस क्षेत्र र वरपर पछिल्लो समयमा सहरीकरणको क्रम तीव्र भइरहेकोप्रति पनि विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।

“माथिल्लो तटीय क्षेत्रमा भूक्षय भएर चितवनका नदीको सतहमाथि आइरहेको छ,” वार्डेन ढकाल भन्छन्। “माथिल्लो तटीय क्षेत्रका औद्योगिक गतिविधिका कारण नदीको जल प्रदूषित हुन थालेको छ।”

त्यसको असर गैँडा र अन्य वन्यजन्तुको स्वास्थ्यमा पनि परिरहेको हुन सक्ने विज्ञहरूको चिन्ता छ।

विश्व वन्यजन्तु कोषका वन्यजन्तुविद् डाक्टर शान्तराज ज्ञवालीले बीबीसीसँग भने, “गैँडाहरू कुनै रोग वा प्रदूषणका कारणले त मरिरहेका छैनन्? कुनै अदृश्य कारण त छैन। हामीले त्यसबारे अनुसन्धान गर्नुपर्ने भएको छ।

) उमेर कालगति

गैँडा प्रागैतिहासिक काल अर्थात् दशौँ हजार वर्षअघि देखि नै अस्तित्वमा रहेका जीव हो। एकसिङ्गे गैँडा दक्षिण एशियामा भारतको आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्ज (करिब २,४००) र नेपालमा पाइन्छ।

शाकाहारी भएपनि निकै बाक्लो छाला र भीमकाय यो प्रजातिको आयु झन्डै २५ देखि ३० वर्षको हुने विज्ञहरू बताउँछन्।

ढकाल भन्छन्, “नेपालमा द्वन्द्व चर्किएका बेला वयस्क भएका गैँडाहरू अहिले निकै पाका भइसकेका छन्। तिनीहरू विस्तारै कालगतिले मरिरहेका हुन सक्छन्।”

पाका गैँडाको मृत्यु कसरी हुन्छ? गैँडाहरू प्राय: चितवनका घाँसेमैदान वा पोखरी वा पानीको ‘घोल’मा लामो समयसम्म उग्राएर बसिरहेको देख्न सकिन्छ। उमेर पुगेपछि उनीहरू क्रमश: शिथिल र कमजोर हुँदै मृत्युको मुखमा पुग्छन्।

कुनै गैँडा अग्ला घाँसको झाडीभित्र मृत भेटिन्छन्। वार्डेन ढकाल भन्छन्, “कहिलेकाहीँ त पाका उमेरका गैँडा ‘घोल’मा बसेको बस्यै पनि मरिरहेको हुन सक्छ।”

गैँडाहरू प्राकृतिक वातावरणमा त्यसरी कालगतिबाट मर्ने क्रमबारे पनि अब अनुसन्धान हुने विज्ञहरू बताउँछन्।

नयाँ अध्ययन कस्तो?

अब हुन लागेको अध्ययनमा नेपाली र विदेशी विज्ञ तथा अधिकारीहरू सहभागी हुँदैछन्।

राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक डाक्टर रामचन्द्र कँडेलका अनुसार अध्ययन टोलीमा विभागका अतिरिक्त राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जूअलोजिकल सोसाइटी अफ लन्डन र एशियन राइनो स्पेसियलिस्ट ग्रूपका विज्ञहरू सहभागी छन्।

उनीहरूले चितवनको स्थलगत भ्रमण गरेपछि अध्ययनको विधि र तौरतरिका टुङ्गो लगाउने योजना छ।

अध्ययन टोलीमा रहेका विश्व वन्यजन्तु कोषका वन्यजन्तुविद् शान्तराज ज्ञवाली भन्छन्, “हामीले वासस्थानमा आएका परिवर्तन, गैँडालाई अहाल अभाव, माइकेन्या जस्ता मिचाह झारको विस्तार आदि समस्याका अतिरिक्त कुनै अदृश्य कारणले गैँडा सङ्कटमा पर्न लागिरहेका छन् कि? हामी गैँडाको संरक्षण र बासस्थानसँग सम्बन्धित ती र अन्य विषयको अनुसन्धान गर्दैछौँ।”

 

तपाईको प्रतिक्रिया