चट्याङ  लागेर पछिल्लो दुई दिनमा ‍१० जनाको मृत्यु भएको छ।

मंगलबार रूपन्देहीमा तीन जना र दाङमा तीन गरी छ जनाको चट्याङ लागेर मृत्यु भएको हो।

मंगलबार साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेर उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका-७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका-२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका-७ का ६२ वर्षीय चन्द्रबहादुर विक छन्।

चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुई जनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका वडा नम्वर २ की १४ वर्षीया ममता साहनीको क्रिमशन अस्पतालमा र सियारी गाउपालिका वडा नम्बर ७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

दाङमा पनि चट्याङ लागेर तीन जना बालकको मृत्यु भएको छ। मंगलबार बेलुकी ६:२५ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका-३ मौरीघाटका साजन चौधरी (१३), रमित चौधरी (११), विनाश चौधरी (११)को मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

त्यसैगरी, चट्याङ लागेर मृतक विनाशका भाइ अविनाश चौधरी (८) गम्भीर घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारै जना बालक जामुनाको रूखमा चढेका चढेका थिए। उनीहरू रूखमा चढेका बेला परेको चट्याङले केहीको मृत्यु भएको हो।

बुधबार प्रदेश नम्बर  १ का छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

१ नम्बर प्रदेश प्रहरीका अनुसार बुधबार दिउँसो पौने ३ बजे मोरङको रंगेली नगरपालिका-९ दोहमना बजारछेउमा चट्याङ लागेर सोही स्थानका १४ वर्षीय बालक अभत ऋषिदेव र १५ वर्षीय अनिल ऋषिदेवको मृत्यु भएको छ।

चट्याङ लागेर बेहोस भएका दुवै बालकको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाको बाह्रदशी गाउँपालिका-५ का ६० वर्षीय पर्शुराम पाठक ओलीको मृत्यु भएको छ। घरमा बसिरहेका दुबै चट्याङ लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि बिएण्डसी अस्पताल लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका सोही ठाउँका ५२ वर्षीय  दुर्गाप्रसाद ओलीको उपचार भइरहेको छ।

झापाकै कचनकवल गाउँपालिका-२ बस्ने ३१ वर्षीया भूमा गाइने घर नजिकै बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागि घाइते भएकी छन्। उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

सुनसरीको बराहा नगरपालिका-९ श्रीलंका टापुमा चट्याङ लागेर ६ वर्षीय बालक अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको छ। ४ वर्षीया बालिका पुष्पा उराँव घाइते भएकी छिन्।

गत वर्ष चट्याङ लागेर ६८ जनाको मृत्यु भएको थियो भने ४ सय जना घाइते थिए। यस वर्ष पनि चट्याङ लागेर ३१ जनाको मृत्यु भइसकेको छ भने एक सय ३८ जना घाइते भएको प्रहरीले जनाएको छ।

के हो चट्याङ?

विज्ञानशास्त्रका प्राध्यापकका अनुसार चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ। दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ।

‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’

यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। अधिकारीका अनुसार यो जमिनसम्म आउने हो भने ठूलो जनधनको क्षति हुन्छ। उनका अनुसार ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति गर्छ।

‘त्यो आगोको मुस्लो जमिनमा आइपुगे घरहरू सल्किन्छन्,’ अधिकारी भन्छन्, ‘त्यसलाई पानीले पनि निभाउन सकिँदैन।’

चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको बखत र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ। विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूलो रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ।

चट्याङबाट कसरी बच्ने?

प्राध्यापक अधिकारीका अनुसार चट्याङबाट बच्ने उपाय सावधानी हो। चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले

घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन। अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ।

‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ।

‘आवाजले डराउनु पर्दैन। बिजुली चम्किँदा डराउनुपर्ने हो,’ अधिकारीले भने, ‘बिजुली चम्किँदै करेन्ट प्रवाह भइसकेको हुन्छ, यतिबेलै क्षति भइसकेको हुन्छ।’

बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट मुक्त हुनु पनि हो। ठूला रूखका फेदमा नबसेको झनै राम्रो हुने अधिकारी बताउँछन्। ‘बिजुली चम्केका बेला इलेक्ट्रिक यन्त्रहरू प्रयोग गर्नुहुँदैन,’ अधिकारी भन्छन्, ’घरमा जडित सर्किटहरू बेला–बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ।’

त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि चट्याङले बेला–बेला टावरमा क्षति गरिरहेकै हुन्छ। यस्ता टावरको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन्।

नेपालमा बढीजसो चैत, वैशाख र जेठ महिनामा चट्याङले असर गर्छ। जलवायु परिवर्तनले पनि चट्याङ निम्त्याइरहेको हुन्छ। जलवायुको परिवर्तनको कुनै नियम छैन।

तपाईको प्रतिक्रिया