डेङ्गु रोग प्रायः मनसुन सुरु भएपछि देखने गर्छ । पानी परेसँगै सडकमा रहेका खाल्डाखुल्डीदेखि घरको छतछतमा पानी जम्ने हुँदा लामखुट्टेका लागि प्रजनन सहज हुन्छ । लामखुट्टेको संख्या वृद्धि भएसँगै डेङ्गु फैलिन सक्ने सम्भावना पनि बढी हुन्छ ।

अघिल्लो वर्षसम्म मनसुन सुरु भएपछि नै डेङ्गुको सङ्क्रमण फैलिएको थियो । सरकारले पनि मनसुन सुरु भएपछि नै यो समस्या देखिने भएको हुँदा यो विषयमा खासै हतारो देखाएन । तर यसपटक डेङ्गुको संक्रमण फैलिन मनसुन पर्खनु परेन । नेपालमा मनसुन शुरु हुनअघि नै सुनसरीको धरानमा डेङ्गुको सङक्रमण फैलियो ।
धरानमा वैशाखमै डेङ्गु देखियो भन्ने कुरा आउन थालेपछि स्वास्थ्य क्षेत्रका विज्ञ व्यक्तिहरुनै अचम्ममा परे । डेङ्गुको नियन्त्रणको पूर्व तयारीमानै काम गरिरहेको बेलामा रोगनै फैलिएपछि इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले वैशाखमा नै डेङ्गुको सङक्रमण देखिनुको कारण खोतल्न थाल्यो ।
अध्ययनपछि महाशाखाले निश्कर्ष निकाल्यो –धरानमा दैनिक पानी नआउने हुँदा स्थानीयले दैनिक प्रयोगको लागि बाल्टिन र गमलादेखि घरको छतमा ट्याङ्कीमा पानी जोहो गरेर राख्ने गरेका थिए र त्यही पानीमा लामखुट्टेले लार्भा पार्यो र त्यसैबाट डेङ्गु फैलियो । सहरी विकाससँगै गाडी ग्यारेजको विकास, गमलामा फूल रोप्ने प्रचलन, तापक्रममा वृद्धिलगायत कारण पनि यसप्रकारको रोग बढ्न थालेको विज्ञहरुको अनुमान छ ।

उपत्यकामा डेङ्गुको जोखिम
इपीडीमीयोलोजी महाशाखाका अनुसार उपत्यकामा अहिलेसम्म डेङ्गु देखिएको छैन । उपत्यकाको केही ठाउँमा डेङ्गुको सङक्रम देखिएको समाचारहरुको महाशाखाले खण्डन गरेको छ । तर, यहाँ पनि डेङ्गु रोग फैलन सक्ने जोखिम भने रहेको महाशाखाले स्वीकार गरेको छ । भाडामा पानी थापेर राख्ने, राम्रोसँग फोहोर व्यवस्थापन नगरिने हुँदा उपत्यकामा पनि डेङ्गुको संक्रमण फैलन सक्ने सम्भावना रहेको महाशाखा प्रमुख डा। विवेक कुमार लालले बताउँछन् । उपत्यका लगायत पानीको अभाव भएको सबै शहरी क्षेत्रमा डेङ्गुको संक्रमण हुन सक्ने महाशाखाको भनाई छ ।
डेङ्गु नियन्त्रणको लागि स्वास्थ्य क्षेत्रको तर्फबाट महाशाखाले काम गरे पनि खानेपानी र फोहोरमैलाको व्यवस्थापनसम्बन्धित निकायले गर्न नसकेको खण्डमा डेङ्गुको जोखिम कायम रहेको लाल बताउँछन् ।

‘डेङ्गुको सङ्क्रमण हरेक वर्ष नयाँ—नयाँ ठाउँमा फैलिरहेको छ । त्यसैले राजधानी लगायतका स्थानमा पनि डेङ्गुको सङ्क्रमण फैलिन सक्ने धेरै सम्भावना रहेको छ,’ लाल भन्छन् । अहिले मनसुन शुरु भइसकेपछि शहरी क्षेत्रमा डेङ्गु फैलिन सक्ने जोखिम थप बढेर गएको महाशाखाको भनाइ छ ।
यसरी हुँदैछ नियन्त्रणको काम
डेङ्गु रोग नफैलियोस् भनेर स्वास्थ्य सेवा विभागको स्वास्थ्य तथा शिक्षा महाशाखाबाट जनचेतना जगाउने कामहरु भइरहेको जनाएको छ । स्थानीय तहलाई पनि डेङ्गु नियन्त्रणको लागि अपनाउनु पर्ने पूर्व तयारीको बारेमा जानकारी गराइरहेको सरकारको भनाई छ । पानीको सुरक्षित—उचित भण्डारण र फोहोरमैलाको व्यवस्थापन लगायतको बारेमा स्थानीय तहलाई जानकारी गराउन थालिएको महाशाखाले जनाएको छ ।
डेङ्गुको सङ्क्रमण फैल्याउन सक्ने लामखुट्टेको विकासको लागि अहिले वातावरण पनि अनुकुल हुँदा नियन्त्रणमा चासो नदिने हो भने समस्या जति बेला जहाँ पनि आउन सकिने देखिन्छ ।
डेङ्गु नियन्त्रण गर्न कै लागि ‘खोज र नष्ट गर’ अभियानलाई सरकारले प्राथमिकतामा राखेर काम शुरु गरेको छ । अभियान अन्तर्गत लामखुट्टे कहाँ र कस्तो ठाउँमा बस्छ भन्ने बारेमा नागरिकलाई प्रत्यक्ष जानकारी गराउने, सङ्क्रमण फैलिएको क्षेत्रमा जोहो गरेर राखेको पानी उचित व्यवस्थापन गर्न लगाउने काम भइरहेको छ ।
काठमाडौँमा पनि दैनिक प्रयोगको लागि पानी संकलन गरेर राख्नु पर्ने अवस्था भएको हुँदा उचित भण्डार व्यवस्थापनमा नीतिगत रुपमानै लाग्नु पर्ने महाशाखाको भनाई छ । डा। लाल भन्छन्, ‘भारतमा यदि कसैको घरमा पानी असुरक्षित तरिकाले राखेको छ र त्यहाँ लामखुट्टेको वृद्धि–विकास भएको भेटिएको खण्डमा स्थानीय निकायले चेतावनी दिने तथा जरिवाना गराउने प्रावधानहरु छन् । नेपालमा पनि नीतिगत रुपमा यस्ता कुरालाई ध्यान दिने हो भने केही हदसम्म रोगलाई नियन्त्रण गर्न सकिन्छ ।’ तर, विशेष गरेर शहरी क्षेत्रमा सरकारले पर्याप्त स्वच्छ पानी उपलब्ध गराउन नसक्दा डेङ्गु जस्ता रोग नियन्त्रण ठूलो चुनौती बनिरहेको महाशाखाको भनाइ छ ।
अहिले विश्वभरीनै डेङ्गुको सङक्रमणको लागि अनुकुल वातावरण हो । अन्य सरुवा रोग घट्दो अवस्थामा रहेको बेला डेङ्गु रोग नियन्त्रण भने विश्वलाई चुनौती बनिरहेको छ । डेङ्गु नियन्त्रणको लागि सबै निकायको सहकार्य र समन्वय नभएसम्म सम्भव नहुने सरकारको भनाई छ ।
धरानमा डेङ्गु नियन्त्रणमा
धरानलगायत शहरी क्षेत्रमा देखिएको डेङ्गु नियन्त्रणमा आएको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । वैशाख ३१ पछि धरान, इटहरी, विराटनगर, झापालगायतको क्षेत्रमा फैलियको डेङ्गु अहिले नियन्त्रणमा आएको महाशाखाका प्रमुख डा। लालले रातोपाटीलाई बताए । बिरामीको सङ्ख्या पनि घट्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ ।

लक्षण र उपचार
संक्रमित लामखुट्टेले टोकेको चारदेखि १० दिनभित्र लक्षण देखिन सक्छ । ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, मांसपेसी वा जोर्नीहरू दुख्नु, वाकवाक वा बान्ता हुनु, शरीरमा स—साना चिलाउने टिकटिक परेको रातो बिबिरा देखिनु डेङ्गुका लक्षण हुन् ।
यस्तै ज्वरोसँगै पेटमा दुखाइ हुनु, लगातार बान्ता हुनु, गिजाबाट रगत बग्नु वा वान्तामा रगत देखिनु, आलश्य हुनु, छिटोछिटो श्वास फेर्नु, कलेजोको आकार बढ्नु र प्रयोगशाला जाँचमा तीब्र गतिमा प्लेटेलेटको संख्या घट्नु र हेमाटोकृट बढ्नुजस्ता लक्षण पनि देखिनसक्छ । यसमा बेलैमा सावधानी अपनाउनु पर्ने देखिन्छ ।
डेङ्गुको खोप हालै मात्र विकास गरिएको र पछिल्लो समय तीन देशमा मात्र उपलब्ध रहेको छ । नेपालमा यो उपलब्ध नभएकोले डेङ्गु संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट बच्नु नै राम्रो मानिन्छ । एडिस जातको लामखुट्टे लामखुट्टेले बिहान र बेलुकी घाम डुब्नु अगाडि अत्यधिक मात्रामा सक्रिय रहने भएकोले यो समयमा विशेष ध्यान दिनु पर्ने देखिन्छ

तपाईको प्रतिक्रिया