कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० कप क्रिकेटको उपाधि विभागिय टिम एपीएफले जितेको छ । फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि हात पारेको हो । महेन्द्रनगरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाउँदै ७१ रन बनायो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रुवी कोदारले २४, कविता कुवँरले २२ बनाइन । यस्तै मञ्जु बोगटीले आठ रन बनाउनु बाहेक अरुखेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किइन । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । बलिङमा एपीएफकी करुणा भण्डारी र सिता रानामगरले तीन तीन विकेट लिइन भने सोनु खड्का, ममता चौधरी र रेखा रावलले एक एक विकेट हात पारे । जवाफमा एपीएफले १५ ओभरमा चार विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उसका लागि इन्दु बर्माले २२, सिता रानामगरले १८ र ज्योती पाण्डले १७ रन बनाइन । यस्तै सोनु खड्का र ममता चौधरीले तीन तीन रनको योगदान गरिन । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदूरपश्चिमले तीन लाखमा चित्त बुझायो ।

तपाईको प्रतिक्रिया