उदयपुरको एक महिलाको रहस्यमय मृत्यु पश्चात उनका श्रीमान पक्राउ परेका छन् । कटारी नगरपालिका– ७ देउलीकुनाकी ४५ वर्षीय चित्रकुमारी दर्लामी मगर असार ३ गते गम्भिर अवस्थामा जङ्गलमा फेला परेकी महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबार उनका श्रीमान मिनबहादुर दर्लामी मगरलाई प्रहरीले पक्राउ गरिएको हो ।

मिनबहादुरको श्रीमती देउलीकुना नजिकैको जंगलमा गम्भिर घाइते अवस्थामा फेला पारि उपचारको लागि कटारी अस्पतालमा राखिएको थियो । तर, महिलाको अवस्था गम्भिर भएकोले थप उपचारको लागि बिराटनगर रेफर गरेकै दिन उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
माइती पक्षले श्रीमतीलाई श्रीमानको कुटपिटबाट मृत्यु भएको बताएका छन् । गाउँका केही व्यक्तिले जंगलमा घाँस दाउरा गर्न जाँदा भिरबाट लडेर घाइते भएको बताउँदै आएका छन् ।

इलाका प्रहरी कार्यलय कटारीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रेमसागर के.सी. का अनुसार घाइते अवस्थामा फेला परेको स्थानमा कुनै लड्ने खालको भिर पहरा नरहेको जानकारी दिए । उनका अनुसार श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु हुन सक्ने आशंका गरिएको छ ।

उनका अनुसार श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमानलाई असार ९ गते सोमबार प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको लागि इप्रका कटारीमा रहेको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया