विराटनगर, विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ५ अर्ब १२ करोड ३० लाख ९० हजार ५ सय रुपैयाँको अनुमानित आयव्यव विवरण सार्वजनिक गरेको छ । महानगरपालिकाको चौथो नगर सभामा उपप्रमुख इन्दिरा कार्कीले ५ अर्ब माथिको बजेट प्रस्तुत गर्नुभएको हो ।
महानगरपालिकातर्फ ३ अर्ब २९ करोड ४९ लाख तथा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनातर्फ १ अर्ब ८२ करोड ८१ लाखको बजेट छ । उल्लेखित अनुमानित रकममध्ये महानगरपालिकाको आन्तरिक स्रोतबाट ५९ करोड ९६ लाख, राजस्व बाँडफाँटबाट ७२ करोड ५९ लाख, सङ्घीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ४७ करोड ८४ लाख, सङ्घीय सरकार सशर्त अनुदान विषयगत कार्यालयतर्फ ५८ करोड ८९ लाख र नेपाल सरकार समपूरक र विशेष अनुदानबाट १२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै सङ्घीय सरकारको ससशर्त अनुदानबाट ३९ करोड ५० लाख, वैदेशिक र अन्य सङ्घ संस्थाको अनुदानबाट २ करोड ३२ लाख, जनसहभागिताबाट ४ करोड ३५ लाख, नगर विकास कोषको ऋण सहयोगबाट ११ करोड ५० लाख, आन्तरिक आय वृद्धिबाट २० करोड आर्जन हुने अनुमान गरिएको छ । कुल खर्चमध्ये महानगरतर्फको प्रशासनिक खर्चका लागि ६४ करोड ९२ लाख विनियोजन गरिएको छ । त्यस्तै परियोजनाबाहेक भौतिक पूर्वाधार निर्माणका लागि २ अर्ब ५ करोड ३९ लाख , वातावरण, सरसफाइ, विपद् व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन र कृषि तथा पशुपन्छी कार्यक्रमका लागि ११ करोड ८३ लाख विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया