नेपाल प्रहरीले ११ महिनामा १ सय ७ जना सुन कारोबारी पक्राउ परेको जनाएको छ । प्रहरीले सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ गर्न र कानुनी दायरामा ल्याउन सक्रिय भएको दावी गरेको छ । प्रहरीका अनुसार कतिपय व्यक्ति सुनको अवैध कारोवारमै संलग्न छन् भने कतिपय व्यक्ति प्रचलित कानुनबारे अनविज्ञ भएका कारण तोकिएको परिमाण भन्दा बढी सुन साथमा लिएर हिँड्दा समेत पक्राउ पर्ने गरेका छन् ।

कन्चनपुर झलारी बस्ने लक्ष्मण तिरुवा सुनको अवैध कारोवारमा पक्राउ पर्ने अभियुक्तमध्ये एक हुन् । उनी २०७५ फागुन २ गते पक्राउ परे । अवैध रुपमा भारतबाट सुन ल्याएर लुकाएको अभियोगमा उनी पक्राउ परेका हुन् । कन्चनपुर शुक्लाफाँटमा उनकै घरभित्र खाल्टो खनी राखेको ५ केजी र पूर्णवाशस्थित शंकर विकको घरमा खाल्डो खनी लुकाएको १८ केजी अवैध सुन सहित उनी पक्राउ परेका हुन् । जम्मा २ कक्षासम्म अध्ययन गरेका उनी भारतमा सवारी चालकको काम गर्थे ।

तिरुवाजस्तै सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने क्रम हाल बढ्दो छ । चालु आर्थिक वर्षको ११ महिनामा सुनको अवैध कारोबारमा संलग्न १ सय ७ जना पक्राउ परेका छन् । उनीहरुमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ९२ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत ५ जना, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गत ४ जना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गत २ जना र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गत ४ जना रहेका छन् । गत आर्थिक वर्ष २०७४-०७५ मा अवैध सुन ओसार पसार कार्यमा संलग्न ९० जना मात्र पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया