गत मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको खोजीमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ ।

चितवनको कुरिनटारबाट गएको सशस्त्र प्रहरीको गोताखोर टोली आज फर्किएको हो । पानीको बहाव तेज भएका कारण खोजी कार्यमा कठिनाइ भएको सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक किशोर प्रधानले जानकारी दिए ।

गोताखोर टोलीले दुर्घटनास्थल आसपासको दुई किलोमिटर क्षेत्रमा गत मंगलबारदेखि खोजी गरिरहेको थियो । नेपाल प्रहरीको टोलीले भने डुंगामार्फत खोजी कार्यलाई निरन्तरता दिएको छ ।

गत मंगलबार खार्पुनाथ गाउँपालिका–५ मा लु१ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खस्दा जिपमा सवार १० जना बेपत्ता भएका थिए । नदीको पानी चिसो र बहाव बढी भएकाले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्न नसकेपछि गोताखोर टोली त्यसतर्फ पठाइएको थियो ।

यसैबीच, जिप दुर्घटनामा बेपत्ता भएका परिवारजनले भने सामूहिक पुत्ला बनाइ उनीहरुको अन्तिम संस्कार गरेका छन् ।

 

तपाईको प्रतिक्रिया