काठमाडौं। संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिकाको न्युयोर्क जादैछन्। असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन्। प्रधानमन्त्री ओलीले महासभालार्इ असोज ११ गते सम्बोधन गर्नेछन्। त्यही दिन प्रधानमन्त्री ओलीले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ।

महासभामा भाग लिनु अघि प्रधानमन्त्री ओलीले सोमबार (असोज ८ गते) ‘नेल्सन मन्डेला शान्ति शिखर बैठकलाई सम्वोधन गर्नेछन्। यो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उनको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुन लागेको हो।

प्रधानमन्त्री ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। असोज ९ गते राष्ट्र संघका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा पनि प्रधानमन्त्री सहभागी हुनेछन्। सोही दिन महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठकलाई प्रधामन्त्री ओलीले सम्बोधन गर्नेछन्। उनले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिने कार्यक्रम पनि रहेको छ। अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्ने कार्यतालिका छ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका साथसाथै बुधबार (असोज १० गते) स्विट्रल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार (असोज १२ गते) उनले क्याम्बोडियाका प्रधानमन्त्री मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्।  प्रधानमन्त्री ओली असोज १३ गते दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट कोस्टारिकाको सानहोजेतर्फ प्रस्थान गर्नेछन्। प्रधामन्त्री ओलीले सानहोजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन्। उनले सानहोजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली असोज १७ गते बुधबार काठमाडौँका लागि प्रस्थान गर्नेछन्।

तपाईको प्रतिक्रिया