झापा / झापाको बिर्तामोड नगरलाई विषादी मुक्त बनाउने दिर्घकालिन योजना अन्तरर्गत नगरपालिकाले नगरवासीलाई निशुल्क निमका विरुवा वितरण गरेको छ ।
पछिल्लो समय रसायनिक विषादीको अत्याधिक प्रयोगका कारण कृषि जन्य उत्पादन खान अयोग्य हुंदै गएको भन्दै नगरले अर्गा्निक खेतीको प्रवद्धनका लागि विरुवा वितरण गरेको नगरपालिकाले जनाएको छ ।
विर्तामोड नगरलाई हरियाली र विषादीमुक्त बनाउने योजनाका साथ यो अभियान अघि सारिएको नगरले जनाएको छ ।
विर्तामोड नगरपालिले वडा नम्बर ८ बाट विरुवा बाँड्ने अभियानको प्रारम्भ गरेको हो । पहिलो चरणमा ४१ हजार निमका विरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरको ५ बर्षे कार्यकालमा विर्तामोड नगरपालिकामा ४ लाख निमका विरुवा नगरबासीलाई वितरण गरिने बताइएको छ ।
नगरप्रमुख ध्रवकुमार शिवाकोटीले एक कार्यक्रमका बिच नगरलाई हरित नगर बनाउने योजना अनुसार निमका बिरुवा वितरण गरेको बताए ।
पहिलो चरणमा नगरमा रहेका समुह तथा सहकारीका प्रतिनीधिहरुलाई विरुवा वितरण गरिएको हो । समुह तथा सहकारीले आफ्नो ठाउँमा आवश्यक थप विरुवा माग गरे नगरले उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
निमको पातमा पाइने एजाडी रेष्टिन तत्व वनस्पती विषादी बनाउनका लागि उपयोगि रहेको भन्दै उनले नगरवासीलाई बढी भन्दा बढी विरुवा रोप्न नगरले आग्रह गरेको छ । अहिले विरुवा प¥याप्त नभए ०७६ असार महिनामा थप विरुवा उपलब्ध गराइने नगरले जनाएको छ । यता निमको विरुवा पाएपछि नगरबासी पनि हर्षित भएका छन् ।
पछिल्लो समय बिर्तामोड नगरपालिकाले नगरलाई बिषादीमुक्त बनाउन बिभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस अघिपनि नगरपालिकाले १० हजार फलफूलका बिरुवा बितरण गरिसकेको छ भने अग्रानिक खेतीकालागि किसानलाई सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया