धरान /  चाडपर्व नजिकिदै गर्दा उपभोक्ताहरुलाई राहत दिलाउन र अखाद्य वस्तु बिक्रीतिवरणमा नियन्त्रण गर्न धरानमा बजार अनुगमन थालिएको छ ।धरान उपमहानगरपालिका अन्तर्गत अनुगमन टोली गठन गरी आइतबारदेखि बजारको अनुगामन प्रारम्भ गरिएको हो । अनुगमन अधिकृत दिवस अधिकारीका अनुसार आइतबार दिउँसो सरोकारवाला निकायहरुसँग बैठक बसेलगत्तै टोली अनुगमनमा निस्किएको हो । बजार अनुगमन सम्बन्धी कार्यविधि तयार भएपछि अनुगमन गर्न सहज भएकोले अब हरेक साता अनुगमन गर्ने लक्ष्य राखिएको अधिकृत अधिकारीले बताए ।
अनुगमन टोलीले आइतबार धरानको छाताचोकदेखि तीनकुने केही माथिको लांघाली, साम्पाङ चोकसम्म अनुगमन गरेको थियो । पहिलो दिन मिठाई पसलहरुमा मात्र अनुगमन गरिएको अधिकृत अधिकारीले जानकारी दिए । उनले भने,‘पहिलो दिन आज मिठाई पसलहरुलाई मात्र लक्षित गरेर अनुगमन गर्यौं, २ वटाले अनुमति नलिई सडकमा मिठाई पसल चलाएकोले एक एक हजार जरिवाना तिरायौं । केही अखाद्य, डेट एक्सपायर सामानहरु पनि मिठाई पसलबाट वरामद गरेका छौं ।
अनुगमन टोलीमा सुनसरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, पत्रकार महासंघ, उपभोक्ता अधिकार मञ्चका प्रतिनिधि हुन्छन भने विज्ञकोरुपमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारबाट पनि एक जना प्रतिनिधि हुन्छन । चाडपर्व नजिकिदै गर्दा अखाद्य वस्तु मिसावट गरेर बेच्ने, बढी मुल्यको स्टिकर राखेर बेच्ने र उपभोक्ता ठगिने गुनासोहरु आउने गरेको छ ।

तपाईको प्रतिक्रिया