अच्युत भट्टराई /बराहक्षेत्र/  सुनसरी नेपालको ५६ औं खुल्ला दिसामुक्त जिल्ला हो । १ लाख ४४ हजार ३ सय ४७ घरधुरी रहेको सुनसरीमा वि.सं. २०५९ देखि नै खुल्ला दिसामुक्त अभियानको थालनी गरिएको थियो । तर अहिले यो खुल्ला दिसामुक्त भन्ने कागजमा मात्र सिमित रहेको अवस्था छ । पहिलेको पुरानो संरचना हुँदै गर्दा पनि विभिन्न गाबिस खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुदै आएका थिए । जसमा साबिक भरौल गाबिस लाई पनि खुल्ला दिसा मुक्त गाबिस घोषणा गरिएको थियो । तर बराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ४ धनपुरीको पश्चिम मुसहरी टोलका मुसहर समुदायमा हेर्दा हासो लाग्छ । यहाँ शौचालय छन तर टोलका मानिसहरु भने खुल्ला रुपमै शौच गरिरहेका छन । सुनसरी मोरङ सिंचाइ आयोजना अन्तर्गत शाखा नहरको डिलमा घर बनाइ बसोबास गरिरहेका यिनिहरु बिहान उज्यालो हुन नपाउदै बाटोको किनारमा दिसापिसाब गर्ने गरेको स्थानीय धनमाया घिमिरे बताउछिन । दुई बर्ष अगाडि साबिक भरौल गाबिस ले बिनियोजन गरेको १ लाख रकम बाट पुनः जागरण नेपाल नाम गरेको संस्थाले सोही टोलमा ८ वटा ट्वाइलेट बनाइदिएको संस्थाका सचिव सुमन थापा बताउँछन् । सोह्र घर रहेको यस टोलका लागि प्रती २ घरका लागि एउटा ट्वाइलेट निर्माण गरिदिएको संस्थाका सचिब थापाको भनाइ छ । तर उनिहरु भने आफूहरुलाइ ट्वाइलेटमा बस्दा दिसापिसाब नआउने हुदा खुल्ला ठाउँमा नै जाने गरेको बताउँछन् । उनिहरुका लागि निर्माण गरिदिएका ट्वाइलेट भने दाउरा , घाँस तथा भुसका बोरा राख्न प्रयोग भइरहेका छन् । यस बिषयमा कुरा गर्दा वडाध्यक्ष आशाराम चौधरी भन्छन् , यस समुदायका मानिस आर्थिक रुपमा मात्रै नभएर मानसिक रुपमा पनि बिपन्न छन् । धेरै पटक सम्झाउदा पनि उनिहरुले अटेर गरेको अवस्था छ , एक पटक जनचेतनाको अभियान नै चलाउने विचारमा छु त्यसपछी पनि नियन्त्रण भएन भने वडा बाट लिने सेवा सुबिधामै बन्चित गर्ने बिचार गरेको वडाध्यक्ष चौधरी बताउँछन् । उता स्थानीय हरुले भने बाटो आवतजावत गर्न समेत नहुने गरि बाटोमा दिसापिसाब गरिरहेको अवस्थामा पनि स्थानीय सरकार ले नदेखे झै गर्नु लाजमर्दो बिषय हुने बताउँछन् ।

तपाईको प्रतिक्रिया