कुनै बेला हाम्रो समाजले हेयको नजरले हेर्ने ब्युटीपार्लर व्यवसाय अहिले धैरै युवतीहरुको रोजाइ बन्न थालेको पाइएको छ । पाँचथरको सदरमुकाम फिदिम बजारमा मात्र करिब १५ वटा ब्युटीपार्लर व्यवसाय सञ्चालनमा रहेको जानकारहरु बताउँछन् । हरेक ब्युटीपार्लरले ब्युटीपार्लर सिक्न चाहने युवतीहरुलाई तालीम समेत दिने गरेका छन् ।
हरेक ब्युटिपार्लरले आधारभूत ब्युटीपार्लर व्यवसाय तालिम लिन आउनेहरुलाई १२ हजार रुपैयाँ लिएर ३ महिने तालिम दिने गरेको नितु ब्युटीपार्लरकी प्रोपाइटर सम्झना मुखियाले बताइन् । प्लस टुको परीक्षा दिएर बसेका युवतीहरु आधारभूत ब्युटीपार्लर व्यवसाय तालिम लिन आउने गरेका मुखियाले बताइन् । बेलामै पढाइ छाडेर बसेका युवतीहरु पनि आधारभूत ब्युटीपार्लर व्यवसाय तालिम लिन आउने गरेका छन् । 

पछिल्लो समय आधारभूत ब्युटीपार्लर व्यवसाय तालिम लिन आउने युवतीहरुको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । जिल्ला युवा विकास समितिले आयोजना गरेको ३९० घन्टे ब्युटीपार्लर व्यवसाय तालिममा समेत तोकिएको संख्याभन्दा बढी युवतीहरुको आवेदन परेकाले पनि ब्युटीपार्लर व्यवसायमा युवतीहरुको क्रेज बढेको जिल्ला युवा विकास समिति पाँचथरका अध्यक्ष सुमन लामाले बताए ।
तालिम लिएर आफैं व्यवसाय गर्न सजिलो हुने र जागिर खोजी रहनु नपर्ने हुँदा ब्युटीपार्लर व्यवसाय तालिममा सहभागी भएको फिदिमकी स्थानीय युवा दिक्षा राइले बताइन् । अहिले राम्री हुन र मेकअप गर्न सबै महिला इच्छुक हुने र आफ्नै घर परिवारसँग बसेर व्यवसाय गर्न सकिने हुँदा यो व्यवसाय सजिलो भएको उनको भनाइ छ । विभिन्न संघसंस्थाले निःशुल्क तालिम दिएजस्तै तालिम पछाडि व्यवसाय सञ्चालन गर्न पनि सहुलियत ऋणको व्यवस्था गरिदिए युवाहरुलाई स्वरोजगार बन्न थप सजिलो हुने राईले बताइन् ।

तपाईको प्रतिक्रिया