म कराएर बोल्न सक्दिनँ। म २० वर्षअघि तपाईँ जनताले रोजेको प्रधानमन्त्री। नेपालको इतिहासमा म बाहेक निर्वाचित प्रधानमन्त्री कोही भएन। प्रधानमन्त्री हुँदा यहाँ आएर यहाँका गरीब मान्छेसँग भेट गरेको थिएँ।

उसबेला गरीबहरूले कुलो नाली खेती आदि दु:खका कुरा गरेका थिए। २० वर्षपछि फेरि उही दु:खका कुरा सुने। म प्रधानमन्त्री हुँदा श्री ५ बाट सोधिबक्सँदा भनेको थिएँ १५ वर्षभित्र नेपालका गरीबभन्दा गरीबलाई मेरो परिवार जतिको साधारण घरबास, लुगा, शिक्षा आदि सुविधा दिलाउने मेरो संकल्प छ।

त्यसैअनुसार देश विदेशमा घुमे। योजनाकारहरूलाई मेरो सल्लाह थियो-तिम्रो योजना कोठामा एउटा गरीबको तस्वीर राख, झुपडीको चित्र राख। यो गरीब मुलुकमा गाउँ-गाउँमा बस्ने जनताको विकास भएमात्र देशको विकास हुन्छ। म १८ महिनासम्म मात्र प्रधानमन्त्री बन्न पाएँ। म र मेरा हजारौं साथीहरू जेलमा परे। विकासको बिरुवा मेटियो। म जेलमा परेपनि विकास त भइराखेको होला भन्ने सोँचेको थिएँ। बाहिर आउँदा पहिलेको भन्दा झन खराब स्थिति भएछ।

यो कुरा राजाको मुखबाट अरूअरूका मुखबाट सुने। उत्पादन घट्यो गरीब झन गरीब हुँदै गए। अहिले झन यस्तो स्थिति आएको छ, हामीले नजानेमा हामी टुक्रिएर जाने स्थिति छ। देश त पछि पर्‍यो, विदेशी पस्न आँटे। देश यति कमजोर छ,सानो विद्यार्थी आन्दोलनले देश हल्लिन थालेको थियो।

आर्थिक ,राजनीतिक, नैतिक सबै दृष्टिबाट देश कमजोर बनेको छ। जेठ १० गतेदेखि बोल्ने मौका पाएका छौं, त्यो घोषणाले र जेठ १० तथा पुस १ गतेको घोषणाले पञ्चायतको निर्विकल्पताको खुट्टा र राजाको सक्रिय नेतृत्वमा दुबै खुट्टा काटिए। म पञ्चायती व्यवस्थाको कट्टर विरोधी हुँ। लठ्ठी उठाएर वा जे गरेर पनि यसको विरोध गरेको छु।

तर, व्यवस्थामा लागेकाहरूको हृदय परिवर्तन गर्न चाहन्छु। अब त बहुदल निर्विकल्प हो। मलाई मृत्युदण्ड दिन्छु भन्नेहरूलाई पनि म भन्छु(म तिमीहरूको शत्रु हैन। एक दुर्इ प्रशासकहरूले जनमत संग्रहमा गलत काम गरिरहेका छन्।

ममाथि अहिले पनि ७ मुद्दा छन्। श्री ५ को विशेष अधिकारबाट मात्र म अहिले बाहिर छु। कल्पना नगरेको कुरा भएको छ। कारण जमाना बदलिएको छ। अनेक अञ्चलहरु गएँ। गरीब जनता स्नेह र आदर लिएर म कहाँ आएका छन्। बहुदलले जितेमा नेपाली कांग्रेस आउँछ। यो गरीबहरूको पार्टी हो। अरू देशको तुलनामा यहाँका धनीहरू पनि गरीब छन्।

१५ वर्षमा मेरो परिवारको जस्तो आर्थिक स्थिति सामान्य जनताको हुनुपर्छ। हामीलाई गरीबको ध्यान छ। हाम्रो अहिलेको मुल चिन्ता र चासो यही हो। जय नेपाल।

(२०३६ साल फागुन २६ गते दाङको घोराहीमा कांग्रेसले गरेकाे आमसभामा वीपीले गरेको सम्बोधन।)

तपाईको प्रतिक्रिया