‘के साह्रो लजाउँछ यो ? स्वर पनि केटी मान्छेको जस्तो छ । पेन्ट खोलेरै हेर्नु पर्छ कि क्या हो ?’ स्कुल पढ्दा शिक्षकले भनेको यो कुराले उनलाई बेलाबखत अझै पनि झस्काउँछ । उनी अर्थात ज्योति थापा । जो बाल्यकालमा परिवारको कान्छो छोरो थियो । उनका शारिरीक अंग छोराकै थिए । तर, मन भने छोरीको थियो । उनलाई न भलिबल खेल्न मन लाग्थ्यो न त फुटबल । केटा साथीसँग टाढा र केटी साथीसँग उनको घुलमिल हुन्थ्यो । ‘केटा मान्छेसँग अलि बढी नै लाज र डर लाग्थ्यो । कसैले केही सोध्ने बित्तिकै रातोपिरो भईहाल्थेँ,’ उनी बाल्यकाल सम्झिन्छिन् ।

पातलो ज्यान, अग्लो कद, बान्की परेको मुहार, हसिलो अनुहार । झट्ट हेर्दा उनी नायिका जस्तै देखिन्छिन् । आफ्नो विगत र वर्तमानबारे मन खोलेर कुरा गर्छिन् । तर, उनले यो अवस्थामा आउनका लागि आफैंसँग गर्नु परेको संघर्ष भने कहाली लाग्दो छ ।

एसएलसी दिँदासम्म उनलाई आफु के हो ? को हो ? भन्ने थाहा थिएन । कलेज पढ्दै गर्दा साथीहरु जुँगामुठे भईसकेका थिए । केटी साथी बनाउने र जिस्कने गर्थे । तर, उनी भने लुकी लुकी आमाका साडी चोलो, श्रृंगारका सामान लगाएर मख्ख हुन्थिन् ।

क्याम्पस पढ्न थालेपछि उनलाई साथीहरुले अनौठो तरिकाले हेर्न थाले । बोली पनि धोद्रो हुनु पर्नेमा पातलो हुँदै गयो । ‘आफैँलाई अप्ठ्यारो लाग्न थाल्यो । ‘कलेज जान छाडेँ, घरमै बसेर पढेँ र परिक्षा दिएँ । ब्याचलर पढ्ने भएपछि घरमा बुहारी भित्र्याउने कुरा हुन थाल्यो । तर, मलाई महिलाप्रति कुनै आर्कषण नै थिएन,’उनले बताईन् ।

किशोरावस्थामा ज्योति

एकदिन तेश्रोलिंगीबारे लेखिएको लेख उनले पत्रिकामा देखिन् । लेख पढिसकेपछि उनी झसङ्ग भईन् किनकी तेश्रोलिंगीको सोचाई, व्यवहार र स्वभावहरु ठ्याक्कै उनीसँग मेल खाँदा रहेछन् । एकातर्फ घरमा बिवाह गर्न प्रेसर थियो । अर्कातर्फ विवाह मेरो लागि बेकार हो भने कुरा बुझेपछि उनको तनाव झन् बढ्यो ।

उनी त्यी काला दिन सम्झँदै भन्छिन्,‘सबै सुत्थे, म रातभर रुन्थेँ । आफैँले आफैँलाई धिर्काथेँ । तुहिएको भए बेस हुन्थ्यो भन्दै सराप्थेँ । जीवन बेकामे लाग्थ्यो र विष खाएर मरौंकी, झुण्डेर मरौं भन्ने मात्र पलपलमा सोच्थेँ ।’

प्यारालाइसिस भएकी निर्दोष आमा र बुढो बुवाको सम्झनाले उनलाई आत्महत्या गर्नबाट धेरैपटक बचायो । किनकी छोरो भनेर सानैदेखि मायाले हुर्काए, बढाए । तन्नेरी भएपछि आत्महत्या गर्दा बुवा आमाको जीवन झन् धेरै पिडादायी हुन्छ भन्ने उनले सोचे । चरम उदासिनताका कारण उनी एकाहोरो बनिसकेकी थिइन् । सम्झने शक्ति पनि ह्रास भईरहेको थियो । टोलाएर बस्न थालेपछि उनकी दिदीले उनलाई मेडिकल र अस्पताल पनि पुर्याईन । कतिपयले त उनलाई बौलाएको भन्दै पाटन लैजानसमेत सुझाएका थिए ।

तर, फेरी एकदिन पत्रिकाका पढ्दा उनले ब्लु डायमण्ड सोसाइटीबारे थाहा पाईन्, सम्पर्क गरिन् र आफ्नो पुरै वृत्तान्त सुनाईन् । मन हलुंगो भयो । ब्लु डायमण्डसँग नजिकिएपछि उनले आफ्नो पहिचानलाई स्विकार्नुको विकल्प छैन । बोल्नुपर्छ, आफ्नो बारेमा परिवार र आफन्तलाई भन्नुपर्छ भन्ने कुरा थाहा पाईन् । साथै घर परिवारबाट लखेटिएर, खेदिएर, बिना नागरिकता काठमाण्डौं संघर्ष गरिरहेका थुप्रै तेश्रोलिंगीहरुलाई उनले भेटिन् ।

‘म सँग त नागरिकता थियो, आफ्नै नाममा सम्पत्ति थियो, स्नातकसम्मको शिक्षा थियो र माया गर्ने परिवार पनि थियो । त्यसैले मर्नु हुँदैन बरु यस्तो पिडामा रहेकाहरुलाई बचाउनुपर्छ भन्ने लाग्यो,’ उनी आफ्नो टर्निङ प्वाइन्ट सुनाउँछिन् ।

घरमा सिधै म यस्तो हुँ भन्न उनलाई गाह्रो परिरहेको थियो । घुमाउरो पारामा तेश्रोलिंगी मानिस पनि हुँदा रहेछन् भन्ने हिसाबले उनी परिवारको मन चोर्थेँ । ‘उहाँहरु अलि सकारात्मक देखेकाले एक दिन भन्ने आँट गरेँ । बुवाले खासै पढ्नु भएको थिएन तर मलाई नै बुझाउन थाल्नुभयो । सायद त्यो नै मेरो जीवनको सबैभन्दा सुखद क्षण थियो,’ उनले हामीसँग खुशी साटिन् ।

परिवार सन्तानको शक्तिको हो । त्यसैले उनले सिंगो समाजलाई नै आफ्नो पहिचानबारे बताउने आँट गरिन् । तिहारको अवसरमा भएको साँस्कृतिक कार्यक्रममा उनी महिलाको पहिरन लगाएर स्टेजमा उक्लिन् । छोरो मानिरहेको समाजले छोरीको भेषमा ज्योतिलाई देख्दा छक्क पर्यो । ‘कतिपयलाई त नाटक गरेको भन्ने भान परेछ । किन यस्तो नाटक गर्या होला ? यस्तालाई कसले छोरी दिन्छ ? भन्ने सम्मका कुरा गाउँमा भएछन् । तर मलाई न बिवाह गर्नु थियो न त कसैको छोरी नै चाहिएको थियो,’ उनी मुसुक्क हाँस्छिन् ।

‘मेरो तन केटाको थियो तर मन केटीकै थियो । तर, केटा जस्तो बन्न खोज्दा मानसिक पिडाको चरम यातना भोग्नु पर्यो । केही वर्ष नरकीय जीवन नै बिताउनु पर्यो,’ डबल रोल गर्दाको पिडा सम्झिएर उनी आफैँलाई धिकार्छिन् । जब आफ्नो पहिचानबारे परिवार र समाजसँग खुलिन् उनी प्रगति पथमा लम्किरहिन् । ‘

परिवारले समान व्यवहार र सहयोग गरेको खण्डमा तेश्रोलिंगीले पिडामा बस्नु पर्दैन । उनीहरुले पनि छोरा वा छोरीले जस्तै प्रगति गर्न सफल हुन सक्छन् । त्यसैको प्रतिफल आज मैले एम.ए सम्मको पढाई सकें । ब्लु डायमण्ड सोसाइटी, भक्तपुर जिल्लाको परियोजना संयोजकको रुपमा गर्छु र फेसन मोडलको रुपमा पनि धेरथोर चिनिएको छु,’ उनी आफ्नो सफलता सुनाउँछिन् ।

तपाईको प्रतिक्रिया