अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको भन्दै नेपाल आयल निगमले पनि मूल्य बृद्धि गरेको छ । अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्रा अवमूल्यन भएको भन्दै निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँको दरले मूल्य बढाएको हो । यस्तै, खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ ।

‘स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको र नयाँ मूल्य लागु गरिएको हो ।’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्रा अवमूल्यन भएको र सोही अनुसार भारतीय आयल निगमबाट १ सेप्टेम्बरमा प्राप्त मूल्य बढेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो ।’

नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको प्रवक्ता गोइत बताउँछन् । उनका अनुसार अब एक लिटर डिजेल र मट्टितेललाई ९८–९८ रुपैयाँ तिर्नुपर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको तिर्नुपर्नेछ ।

पटक पटक पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गर्दै आइरहेको निगमले मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ३६ पैसा, डिजेल र मट्टितेलमा ४९ पैसा र खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया