इलाम/ १८ भदौं / इलाम र पाँचथरको सीमा बजार राँकेमा गयराती भएको आगलागीको क्षतिको विवरण सार्वजनिक भएको छ । आगलागीमा दुई करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आगलागीमा देउमाई नगरपालिका वडा नम्बर ०१ बस्ने ५० वर्षका ठालुमान श्रेष्ठको पाँच तले घरको लत्ता कपडा अन्य जिन्सी माल समान सहित जलेर नष्ट हँुदा एक करोड ५३ लाखको क्षति भएको छ । यहि घरमा रहेको जीत बहादुर बस्नेतको किराना पसल जल्दा ४० लाख र शिबबहादुर बिष्टको चुत्ता चप्पल पसल जल्दा ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

राती ९ बजे लागेको आगो रातको १२ बजे मात्र पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि पाँचथर फिदिमको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका थिए । ठालुमान श्रेष्ठको घरमा अचानक बिद्युत सर्ट भई आगलागी बताइएको छ । आगो नियन्त्रणका लागि इलामबाट गएको दमकल भने बाटै बिग्रिएको छ ।

तपाईको प्रतिक्रिया