नुवाकोट : साथी भनौं वा सम्पत्ति, यातायातको साधन वा फोहोर संकलन गर्ने औजार । जे भने पनि उहाँसँग एउटा साइकल छ । त्यो पनि निक्कै पुरानो । यही साइकलको भरमा घरघर पुगेर कवाडी संकलन गर्नुहुन्छ, पिपरा स्टेशन, मोतिहारी भारतका सगीर अख्तर । २३ बर्ष अघि नेपालमा पाइला टेक्दा उहाँसँग शरीरमा लगाउने कपडा बाहेक अरु केही पनि थिएन ।

त्यसभन्दा अगाडि नै नेपाल भित्रिएका उहाँका साथीहरु कवाडी संकलन गर्ने काम गर्नुहुन्थ्यो । पहिलो पटक नेपालका आएका सगीरले पनि त्यो व्यवसाय भन्दा अर्को काम गर्ने उपाय नै देख्नुभएन । सगीर भन्नुहुन्छ ‘साथीहरुको साइकल थियो र उनीहरु घरघरमा पुगेर फोहोर संकलन गथ्र्यो, आफ्नो त त्यो पनि थिएन, साइकल किनौं भने पैसा पनि थिएन । बल्लतल्ल साथीभाइसँग सरसापट गरेर साइकल किनें अनि उनीहरुले जस्तै फोहोर सोर्न थालें ।’

नेपालमा त्यही फोहोर संकलन गर्ने काम गरेर उहाँले भारतमा आफ्ना बच्चाहरुलाई उच्च शिक्षा पढाईरहनुभएको छ । २ छोरी ४ छोराका बुबा सगीर अख्तरको जेठो छोरा परवेज आलम स्नातक दोस्रो बर्षमा अध्ययन गर्नुहुन्छ । पढाईसँगै उहाँ बम्बईमा पिज्जा बनाउने एउटा होटेलमा सुपरभाइजर हुनुहुन्छ । माईला तपरेज आलम अहिले प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दै हुनुहुन्छ । साइला जावेद आलमले १० कक्षामा पढ्नुहुन्छ, कान्छो भर्खर ५ बर्षमा टेक्दैछन् ।

सगीरले बालबालिकालाई हुर्काउन, पढाउन लाग्ने खर्चको बन्दोबस्त नेपालमा फोहोर संकलन गरेर कमाएको रकमबाटै मिलाईरहनुभएको छ । सगीर भन्नुहुन्छ ‘श्रीमतीको जागीर छैन हजुर, यत्तिका सन्तान मैले कसरी हुर्काएँ ? यही नेपालको कवाडी संकलन गरेरै त हुर्काएँ, पढाए नि ?’

सगीरलाई यत्तिका छोराछोरीलाई हुर्काउन, पढाउन लाग्ने खर्च सम्झिंदा आफैलाई पत्यार लाग्दैन रे, कहिलेकाही । ‘शुरु शुरुमा महिनाको कमाई नै १५०० रुपैयाँ हुन्थ्यो, धन्न एउटै कोठामा कोचिएर १०/१२ जना बस्थ्यौं, त्यही पैसाबाट खानुपनि प-यो, अलि अलि बचाएर घरमा पनि पठाउनुपथ्र्यो’ सगीरले पहिलेको दुःख बाँड्नुभयो ।

शुरुमा नेपाल आउँदा काठमाडौको भोटेबहालमा बसेर काठमाडौ उपत्यकाको कवाडी संकलन गरेका सगीरको स्टेशन अहिले परिवर्तन भएको छ । अहिले उहाँ नुवाकोटको विदुर आसपासको कवाडी संकलन गरेर विक्री गर्नुहुन्छ ।

 

मानिसहरुको फेरिदो जीवनशैलीले पनि सगीरको व्यवसायलाई टेवा पुगेको छ । सगीर भन्नुहुन्छ ‘अहिले मानिसहरु बियर खाान्छन् बोतल हामीलाई हुन्छ, चिटिक्क परेको तर कम टिकाउ सामानहरु प्रयोग गर्छन्, टुटेफुटे पछि त्यो पनि हाम्रैमा आईपुग्छ । प्लाष्टिकका सामग्रीहरु प्रयोग गर्छन् त्यो पनि हामी उठाईहाल्छौं, यसले गर्दा पहिले भन्दा अलि बढी कवाडी भेटिन थालेको छ ।’

विहान उज्यालो हुँदा नहुँदै कोठाबाट निस्केका सगीर बेलुकी सात नबज्दा सम्म बाहिरै भेटिनुहुन्छ । दैनिक ५ सयको फोहोर संकलन गर्दा पनि महिनाको १५ हजार रुपैयाँ जति कमाउनुहुन्छ । त्यही रकमबाट बचाएर मासिक ६ /७ हजार आइसी परिवारका लागि पठाउँदै आएको उहाँले बताउनुभयो । ‘मैले पठाएको रकमबाटै घरव्यवहार चलिरहेको छ, अहिले त ठूलो छोरो पनि कमाउने भएको छ, अब पहिले जस्तो दुःख गरिरहनुपर्छ भन्ने लाग्दैन’ उहाँले दुःखको दिन कम हुँदै गएको कुरा हाँस्दै सुनाउनुभयो ।

हामी नेपालीहरुले त्यही फोहोरलाई चिन्न नसकेर नाक खुम्च्याउँछौं, तर भारतीयहरु त्यही फोहोर संकलन गरेर मनग्गे पैसा कमाईरहेका छन् । हामीले आफ्नै आँखा अगाडिको पैसालाई चिन्न सकेकै रहेनछौं भन्ने कुरा सगीरको पैसा कमाउने तरिकाले बताउँदैन र ?

तपाईको प्रतिक्रिया