पोखरा : यमनका ३१ वर्षीय गडम यहुया अली महमदलाई नेपालले दिएको पर्यटक भिसा गएको माघ १० गते सकिएको थियो । त्यसपछि पनि उनी भने नेपालमै थिए । ६ महिनाअघि भिसा सकिएको अवस्थामा अध्यागमन कार्यालयले उनलाई पक्राउ ग¥यो । फेवाताल किनारमा क्युरियो सामान बेच्दै आएका उनी अध्यागमन कार्यालयमै पुग्दा समातिएका थिए ।

अध्यागमनको पोखरा कार्यालयले उनलाई काठमाडौं पु¥यायो । उतैबाट महमत देश निकाला भए । रसियाका इभेग्नी फेडरोभ, जापानका इसु हासिमोतो, स्विडेनका मार्टिनसन टोरेभइरट पनि भिसा सकिएर ‘ओभरस्टे’ बसेको अवस्थामा फेला परे । २०७४÷०७५ मा अध्ययगमन कार्यालय पोखराले ९ जना विदेशीलाई अवैध रुपमा बसेको अवस्थामा फेला पारी अध्यागमन विभाग काठमाडौंमा पठाएको छ ।

अध्यागमन अधिकृत सन्तोष लामिछानेले भिसा सकिएर पनि यतै बसेकामध्ये सबैभन्दा धेरै ४ जना रसियाका रहेको सुनाउँछन् । जापान, स्विडेन, बेलायत, फ्रान्स अमेरिकाका एक÷एकजना पर्यटक भिसा सकिएर पनि बसेको अवस्थामा फेला परेपछि अध्यागमन विभागमा पठाइएको अध्यागमन अधिकृत लामिछानेले बताए ।

थुप्रै पर्यटक त्यसरी अवैध बस्छन् तर प्रहरी र अध्यागमनले त्यस्ता पर्यटक खोजीनिती गर्ने विषयलाई खास प्राथमिकतामा राखेको छैन । कुनै घटनामा संलग्न भएको अवस्थामा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दामात्रै पर्यटक अवैधरुपमा बसेको भेउ मिल्ने गरेको छ । २०७४÷०७५ मा पक्राउ परेका पर्यटक अनुगमनबाट पक्राउ पर्नेभन्दा पनि यसरी नै विभिन्न घटनामा संलग्न भएको अवस्थामा स्थानीयले खबर गरेपछि मात्र पक्राउ परेका हुन् । २०७३÷०७४ मा अवैध रुपमा बसेका ६ जना पर्यटक पक्राउ परेका थिए ।

पर्यटन व्यवसायीका अनुसार पैसा खर्च गर्न नसक्ने बरु उल्टै यतै माग्ने, फुटपाथ व्यापार गर्ने र पैसा कमाउनपट्टि लाग्ने पर्यटक ओभरस्टे गर्छन् । व्यवसायीले आफ्ना पाहुनाको पासपोर्टमा भिसा अवधि हेर्ने र फोटोकपी गरेर राख्ने गरेमात्र गैरकानुनी रुपमा बस्नेहरु पत्ता लगाउन सजिलो हुने पर्यटक प्रहरी कार्यालय पोखराका सबइन्सपेक्टर (सई) लालबहादुर थापा बताउँछन् । ‘होटलमा तोडफोड गरे, झैझगडा गरेमात्र व्यवसायीले प्रहरीलाई खबर गर्छन्’, उनले भने, ‘अनि बल्ल भिसा हेरिन्छ र थाहा हुन्छ ।’ अवैध रुपमा बस्ने पर्यटकको समाउने छुट्टै अभियान अहिलेसम्म नचलाइएको उनले बताए ।

पोखरामा विदेशीबाट सञ्चालित होटल र रेस्टुरेन्टबारे व्यवस्थित तथ्यांक छैन । पर्यटन कार्यालय, पोखरा महानगरपालिका, कर कार्यालय, घेरेलु उद्योग कार्यालयबारे त्यसबारे बेखबर छन् । कास्कीका गाउँमा समेत गैरकानुनी रुपमा पर्यटक बस्ने गरेको र यस्ता पर्यटकले चोरबाट पर्यटकलाई गाइडको रुपमा पदयत्रामा लग्ने गरेको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका पूर्वअध्यक्ष दीपकराज अधिकारी बताउँछन् । यस्ता पर्यटक २ सय रुपैयाँसम्मका कोठामा भाडामा बस्ने र गैरकानुनी रुपमा योगसमेत सिकाउने गरेको उनले सुनाए ।

गैरकानुनी बसेका पर्यटकलाई अध्यागमन कार्यालय पोखरामा राख्ने ठाउँ हिरासत छैन । अध्यागमन विभाग काठमाडौंमा बुझाउनु लैजाने बजेट पनि कम छ भन्छन् कर्मचारी । ‘बदमासी गर्ने पर्यटकलाई विभागसम्म लैजाने बजेट वर्षमा एक लाख ४० हजार छ’, अध्यागमन अधिकृत लामिछानेले भने ।

पछिल्लो समय सरकारले नेपाल आएका पर्यटकको अनुगमन गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्य अध्यागमन अनुगमन जिल्ला समन्वय समिति गठन हुने व्यवस्था गरेको छ । विदेशी नागरिक अनुगमन निर्देशिका २०७५ अनुसार अध्यागमन कार्यालयका प्रमुख सदस्य सचिव र सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला सशस्त्र प्रहरी बल इकाई प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, पर्यटन कार्यालय प्रमुख, श्रम कार्यालयका प्रमुख रहने व्यवस्था गरेको छ । समन्वय समितिको काम, कर्तव्य र अधिकार जिल्लाभित्र बसोबास गरेका विदेशी नागरिकहरुको अनुगमन गर्ने र विवरण अध्यावधिक गर्ने लगायत छ ।

गैरकानुनी रुपमा बस्ने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष सोम थापा पनि सुनाउँछन् । ‘लामो समय बस्ने, विभिन्न व्यवसाय गर्ने पर्यटकको बेलाबेलामा छड्के जाँच गर्नुपर्छ’, उनले भने, ‘पर्यटकलाई गैरकानुनी काम गर्न दिनु हुँदैन, एकातिर राजस्व गुम्छ अर्काेतिर कानुन मिचिन्छ ।

-अन्पूर्ण पोस्टबाट

तपाईको प्रतिक्रिया