यो संसारमा धनी बन्न कसलाई पो मन नहोला र ?

धेरै मानिसलाई लाग्न सक्छ कि धनी बन्नु भनेको भाग्यको खेल हो । के साँच्चै भाग्य नै हो त धनी बनाउने ?

धनी बन्नु भाग्य मात्रै नभएर रणनीतिक लगानीले मानिसलाई धनी बनाउने तर्क केही विज्ञहरूले पेश गरेका छन् । उनीहरू धनलाई उसको म्यानेजमेन्ट र करियरसँग सम्बन्धित रहेको मान्छन् । धनी बन्ने वा नबन्ने भन्ने निर्णय आफ्नै हातमा हुन्छ । उनीहरु भन्छन्– सोच, दृष्टिकोण र बानी अनुसार तपार्इं धनी बन्ने या नबन्ने छुट्टिन सक्छ ।

आर्थिक पत्रिकाको एक रिपोर्टका अनुसार जिन्दगीमा सँधै मानिसलाई धनी बन्ने मौका र संकेत मिलेको हुन्छ । यसलाई समात्न सक्ने वा नसक्ने भन्ने कुरा तपाईं हामीमा भर पर्छ ।

कम उमेरमा हुने कमाइको मौका

रिर्पाेट भन्छ– यदि तपाईंलाई धनी बन्ने चाहना छ भने सानो उमेरमा नै हुने कमाइको मौका छोड्नु हुँदैन । सानो उमेरमा भएको कमाइमा पछि धेरै कमाइ गर्ने संम्भावना हुन्छ । यदि सानो उमेरमा गरिएको कमाई कुनै फाइनन्सियल मार्केटमा लगानी गर्ने हो भने बुढेसकाल लाग्दा त्यसले धेरै फाइदा दिन सक्छ । विश्वमा यस्ता धेरै उदाहरण भेटिन्छन्, जसले सानो उमेरमा नै पढाई छोडेर कमाइमा लागेका र पछि उनै व्यक्ति संसारकै धनी मानिसको सूचिमा पनि परेका छन् । बिल गेट्स, मार्क जुकरबर्ग र वारेन बफेट यसका उदाहरण हुन् ।

कुनै नयाँ व्यवसायमा हात हाल्ने मौका

बिबिसी क्यापिटलको एक रिपोर्टका अनुसार नयाँ खालको व्यवसायले सँधै मानिसलाई धनी बनाउन सक्छ । किनभने यस्तो व्यवसाय बढ्ने सम्भावना २ हजार प्रतिशत भन्दापनि बढी हुन्छ । तर, यस्तो व्यवसाय डुब्ने सम्भावना पनि उत्तिकै रहन सक्छ । तर, जोखिम मोलेर धनी बन्ने सम्भावनाबाट पर भाग्नु पक्कैपनि बुद्धिमानी हुन सक्दैन ।

इनोभेसनको सम्भावना

रातारात धनी बन्नु कहिलेकाहीँ सपनामा देखिने परीको कथा जस्तो पनि लाग्छ । तर, नयाँ सृजनाले रातारात धनी बन्ने सपना जीवित राखेको हुन्छ । अमेरिकासँगै विश्वभरिका मानिस यस्तै कुनै नयाँ सृजनाले रातारात धनी भएका भेटिन्छन् । फेसबुक, गुगल, एप्पल लगायत भारतमा पेटिएम, फ्लिपकार्ड जस्ता कम्पनी सानो लगानी र सानो ठाउँमा सुरु गरेका थिए । नयाँ सृजनाले चलेका यस्ता कम्पनीका संस्थापक केही वर्षमा धनी भएका हुन् । कुनैपनि कम्पनी नयाँ सोचबाट सुरु भयो भने त्यसले छिटो सफलता दिलाउँछ पनि ।

भविष्य हेरेर वर्तमानमा गरिने लगानी

बिबिसी क्यापिटलका अनुसार धनी झन्झन् धनी बन्दै गइरहेका छन् । त्यो देख्दा धनीलाई मात्रै धनी बन्ने अधिकार छकि जस्तो देखिन्छ । तर, धनी यसकारण झन् धनी भएका छन् कि, उनीहरु भविष्य हेरेर विशेष क्षेत्रमा मात्रै लगानी गर्छन् । उनीहरू यस्तो व्यवसायमा लगानी गर्छन् ताकि, भविष्यमा उक्त व्यवसायको राम्रो सम्भावना होस् ।

रिपोर्टका अनुसार यस्तो व्यवसाय सुरुमा निकै कम पूँजीबाट सुरु गरिएको हुन्छ । तर समयसँगै यसको आकार र नाफा पनि बढ्दै जान्छ ।

कुनै विशेष सम्पतिमा लगानी

इन्टरप्रेनियर रिपोर्टका अनुसार कुनै विशेष वस्तुमा गरेको लगानीले मानिसलाई धनी बनाउन सक्छ । विशेष वस्तु भन्नाले जुन वस्तुको मूल्य वर्तमानमा निकै सस्तो पर्न सक्छ । तर, भविष्यमा महङ्गो ।

यस्ता वस्तुमा लगानी गर्दा कमाइ हुन केही समय त लाग्छ । तर, नसोचेको मूल्यमा नाफा हुन सक्छ । यस्तो लगानीमा अपरेशनल खर्चमा धेरै पैसा लगानी पनि गर्नु पर्दैन । यस्तो कारोबारमा न कुनै अफिस चाहिन्छ न कुनै शोरुम नै ।

तपाईको प्रतिक्रिया