इनरुवा । ‘मुसहर जन पेरवा धन गन्दै नगन’ भन्ने भनाई कामको लागि कुनै भरोसा नहुने मजदुरका रुपमा चित्रण गर्न प्रयोग गरिएका सुनसरीका मुसहर समुदायको जीवनमा अपत्यारिलो परिवर्तन आएको छ ।

अर्काको घरमा जनबनी गरेर दुःखपूर्ण रुपमा जीविकोपार्जन गर्दै आएका मुसहर पुरुषहरु अहिले काममा जाँदैनन् ।

घरमै सञ्चारका आधुनिक साधनको प्रयोग गर्ने, तास खोल्ने र बेलुका भएपछि महंगा मदिराको चुस्की लिदै विताउँछन ।

सुनसरीको इनरुवा ८ स्थित डुम्राहामा रहेको मुसहरी वस्तीमा भेटिने मुसहर समुदायका पुरुषहरुको दिनचर्या फरक रुपमा बित्ने गरेको छ ।

दुई चार वर्ष अगाडि बिहानदेखि साँझ अबेरसम्म कामको खोजी र कामका लागि घरबाट निस्कने मुसहर समुदायका पुरुषहरु हिजोआज पहिला जस्तो घर बाहिर कामको खोजीमा जान छाडेका छन ।

उनीहरु प्रायः जसो बिहान उज्यालो भएदेखि शहर बजारका युवायुवती झै एन्ड्रोइड मोवाइल चलाउनमा व्यस्त हुन्छन ।

प्रायः मुसहरी वस्तीका विवाहित सवै पुरुषहरु सँग आजकाल हातमा एन्ड्रोइड मोवाइल हुन्छ ।

हातमा मोवाइल बोके सरह प्रत्येकका घरको छानामा वा आगनमा स्वदेशी वा विदेशी डिस छाताहरु राखिएका छन भने कोठामा एलईडी टीभी झुण्डाईएका छन ।

यि सवै मनोरञ्जनका आधुनिक प्रविधिहरु उनीहरुले कडा परिश्रम गरेर बिहानदेखि बेलुकासम्म पसिना बगाएर कमाएको रकमले भने होइन ।

विन्दास मुसहर पुरुषहरुको झक्कास जिन्दगीका बारेमा भने कथा अर्कै रहेको छ ।

प्रायः सुनसरीका धेरै जसो मुसहरी वस्तीबाट विवाहित महिलाहरु विभिन्न माध्यमबाट वैदेशिक रोजगारीका लागि एजेण्टमार्फत खाडीका मुलुकहरु रोजगारीका लागि गएका छन ।

घरबाट श्रीमती बाहिर गएपछि साना साना केटाकेटी र घरमा भएका बुढाबुढीको रेखदेखका लागि सेवामा प्रायः पुरुषहरु घरमा बसेर दिन बिताउने गरेका छन ।

साउदी अरब, दुवई, कतार लगायतका मुलुकमा रोजगारीका लागि गएका महिलाहरुले कमाएको रकम घर खर्चका लागिपठाउने गरेका छन ।

सोही रकमले यहाँ भएका पुरुषहरुले भने बचत लगायतका काममा खर्च नगरी विलासिताका सामग्रीहरु मोवाइल, टिभी र छाता किन्नमा खर्चिने गरेका हुन ।

डुम्राहाका बिलट सदा भन्छन, ‘श्रीमती विदेश गएको ३ वर्ष भयो उताबाट घरमा खर्च गर्नका लागि ५ पटक रकम पठाईसकेकी छिन ।

पैसा आएपछि गाउँमा सवैले छाता राखेर टीभी घरमा जोडेका छन । विदेशमा कुरा गर्न मोवाईल समेत किनेका छन ।

श्रीमतीले फोन गरेर पहिला टीभी मोवाइल फोन किन्न भनेकाले हामी सबैले किनेका हौ ।’

उनकै छिमेकी सुरजा ऋषिदेवकी श्रीमती विदेश गएको २ वर्ष भयो । उनले ४ पटक घरका लागि पैसा पठाईन् ।

छिमेकीहरुले झै उनले पनि श्रीमानलाई पहिला छानमा छाता र कोठामा टीभी किन्न सल्लाह दिएपछि सुरजाले इनरुवा बजारबाट २५ हजार खर्च गरेर टीभी र छाता किनेर ल्याए ।

अहिले उनीसहित तीन छोराछोरी र आमा घरमा एक साथ बसेर टीभी हेर्दै दिन बिताउँछन ।

इनरुवा ४ गणेशपुरका पुलकित सदा भन्छन, ‘महिलालाई बाहिरबाट आएका मानिसहरुले पासपोर्ट बनाएर विदेश जाने भिसा निःशुल्क ल्याईदिन्छन ।

सवैका श्रीमती विदेश गएर पैसा पठाउदै समानहरु किन्न थाले १७ महिना अगाडि मैलेपनि श्रीमतीलाई कुवेतका लागि पठाए ।’

उनले अरुले जस्तै मोवाइललगायतका सामानहरु किनेर परिवारका साथ खुशी हुँदै दिन बिताउने गरेको सुनाए ।

इनरुवाकै भुनाई सदाले यहाँबाट मात्र नभई मुसहरी वस्तीबाहेक अन्य वस्तीहरुबाट समेत रोजगारी दिने भन्दै आउने एजेण्डले आसपासका धेरै गाउँबाट विदेश काम गर्न महिलाहरु लैजाने गरेकाले आजकाल तगडा महिलाहरु बाहिर गएपछि गाउँ घर शहर बजार तिर काम गर्न धेरै जसोले जान छाडेको बताए ।

मुसहरी वस्तीमा रहेका अविवाहित युवाहरु समेत बिहानदेखी बेलुकासम्म शहर बजारमा काम गरेर रकम जम्मा गर्दै विवाहको समयमा यस वर्ष विवाह गरेर श्रीमती विदेश पठाई गाउँका अन्य पुरुष सरह विन्दास पारामा झक्कास जीवन जिउने सोचाई रहेको बताउँछन ।

वर्णमाला दैनिक बाट

तपाईको प्रतिक्रिया