आकाश बस्नेत /धनकुटा, १३ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाईते भएका छन् ।सुनसरीको ईनरुवाबाट धनकुटाको नमस्ते झरना आउँदै गरेको को.१ ख ३५८३ नम्बरको बस बिहान करिव ११ बजे ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर पल्टिएको हो ।दुर्घटनामा परी सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ४८ बर्षीय राजेन्द्र चन्द्रबंसीको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले सप्तकोसी अनलाइन लाई जानकारी दिए ।

गम्भीर घाईते भएर उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएका चन्द्रबंसीको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाईते भएका १७ जनाको वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । प्रतिष्ठानमा उपचाररत सुनसरीको ईनरुवा नगरपालिका–४ का ६५ बर्षीय खड्गबहादुर नेपाली, सुनसरीको भोक्राहनर्सिङ्ग गाउँपालिका–१ का २८ बर्षीय श्रवण मेहता र सोहि स्थानका ३० बर्षीय रामकुमार मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।वाँकी घाईतेको भेडेटार स्थित स्वास्थ्य सस्थामा उपचार भईरहेको छ । ओरालो सडकमा अचानक ब्रेक फेल भई बस सडकको भित्तामा ठोक्किएर सडकमा पल्टिएको भेडेटारका ट्राफिक प्रहरी सूर्य शिवाकोटीले बताए ।दुर्घटना पश्चात बस चालक सुनसरीको प्रकाशपुर बराह नगरपालिका–१० का भीमसेन कबिरथ फरार रहेकाले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया