बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका एजेण्डालार्इ परराष्ट्रमन्त्रीस्तरीय बैठकले अनुमाेदन गरेकाे छ।

बुधबार बसेको १६औं मन्त्रिस्तरीय बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, मंगलबार सम्पन्न वरिष्ठ पदाधिकारीको तथा विशेष बैठकका प्रतिवेदन पेश भएको बैठकपछि परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै जनकारी गराएकाे हो।

मन्त्रिस्तरीय बैठकले अन्तिम रुप दिएका एजेण्डालाई भाेलिदेखि सुरु हुने बिमस्टेक शिखर सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

बैठकले अन्तराष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शुन्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ।

मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा पनि तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिएका थिए।

मन्त्री ज्ञवालीले बिमस्टेक आवद्ध मुलुकबीचको समन्वयले सम्भावनाको ढोका खोल्ने तथा विद्युत र प्रविधि क्षेत्रमा लगानी र व्यापार बढाउन सके सामाजिक–आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन सकिने बताए। उनले दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल लगायतका क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको समेत बैठकमा उल्लेख गरेका थिए।

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए । बैठकमा सदस्य देशका परराष्ट्र र बाह्य मामिला तथा विदेश मन्त्रीले सम्बोधन गरेका थिए।

बैठकमा बंगलादेशका विदेश सचिव अबुल हसन महमुद अलि, भारतका बाह्य मामिला राज्यमन्त्री भिके सिंह, म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके र थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुद विनय नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो।

तपाईको प्रतिक्रिया