श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइएकाे छ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा छ ।शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी ब्राह्मण, क्षेत्री, वैश्यले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे समाप्ति०को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।

यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी, महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण आदि सबै हामिले मान्ने भगवान तथा नरनारीहरू जनै धारण गर्दथे । यद्यपि आजकाल नारिले यो जनै धारण गर्ने परम्परालाई विस्थापीत गरिएको छ ।

विशिष्ट अभिप्राय,मर्यादा र एक पावन सन्देश छ . यसमा तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पांच शिखा वा गांठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ । एउटा जनैमा तीन धागा – डोरा वा सूत्र हुन्छन् । हामी कहां तीन संख्याको ठूलो महत्व छ । ब्रह्मा, विष्णु र महेस्वरसत्व, रज र तम तीनगुण, पृथ्वी-अन्तरिक्ष र द्यूलोक गरी तीन लो

क गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि ईश्वर, जीवात्मा र प्रकृति आदि सत्ता पनि तीन छन् अतः जनैमा तीन डोरा हुनु सुसंगत छ ।

जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहंदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन् ।
जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ ।

तीन दण्ड सूत्रको एक अर्को पनि रहस्य छ त्यो यो हो कि कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात् शरीर, वाणी र मनलाई संयममा राख्नु । कार्यसंयमद्वारा ब्रहृमचर्य पालन, गुरूजनहरूको आदर सत्कार, अहिं

सा र तप आदि । वाणी संयमद्वारा सत्य, हितकारी र मधुर भाषण र स्वाध्याय गर्नु । मन संयमद्वारा मनका विकारहरू दूर गरी त्यसलाई शुद्ध र पवित्र संकल्पले मुक्त बनाउनु एवं सार्थक चिन्तन गर्नु । जनैधारीका लागि शरीर, वाणी र मनको यो संयम अत्यावश्यक छ ।

तीन धागामा एक अर्को रहस्य पनि लुकेको छ यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम तीन पोयाले समस्त प्राणी बांधिएका छन् । जनैका तीन धागाले यसैको स्मरण गराउंदछन् कि हामीले यस संसारबाट निस्कनु छ र मुक्त हुनु छ । सन्यासि रुप धारण गर्दा संसारबाट माया,मोह र ममता त्यागिन्छ यस कारण ‘संन्यास आश्रममा’ जनै फुकालिन्छ ।
जनै र ‘गायत्रीमन्त्रको परस्पर घनिष्ट सम्बन्ध छ । यससंगै परमेश्वर(परमाणु)को सर्वश्रेष्ठ नाम ‘ओम्’ मा अक्षर पनि तीन छन् अ, उ र म् । महाव्याहुति पनि तीन नै छन् ‘भूः भुवः स्वः’ र गायत्री मन्त्रमा पाद पनि तीन नै छन् ‘तत्सवितुर्वरेण्यम्’ ‘भर्गो देवस्य धीमहि’ ‘धियो यो नः प्रचोदयात’ ।

शरीरमा ‘वात’ ‘पित्त’ र ‘कफ’ धातुहरू पनि तीन नै छन् । यिनलाई सम राख्नु पर्छ, समराख्नु स्वास्थ्य हो विषम राख्नु रोगी हुनु हो । शरीर पनि‘स्थूल’ ‘सूक्ष्म’ र ‘कारण’ तीन नै छन् । यिनको विवेक गरेर आत्मालाई जान्नु पर्दछ । दुःख वा ताप पनि तीन प्रकारकै छन् ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’ । यी तीन दुःखबाट निवृत्ति हुनु पर्दछ । यिनबाट निवृत्तिको नाम नै परमपुरूषार्थ अथवा मोक्ष हो ।
‘ज्ञान’, ‘कर्म’ र ‘उपासना’ तीन साधन छन् । यी तीन साधनको रहस्य बुझेर तदनुसार आचरण गरी परमात्मा (तत्वज्ञान) प्राप्त गर्नु पर्छ ।

जनैका तीन सूत्रले एक अर्को पनि संकेत दिई रहेका छन् त्यो यो हो कि संसारमा तीन प्रकारका ऐश्वर्य छन् ‘सत्य’, ‘यश’ र ‘श्री’ जनैधारी मनुष्यले यी तीन मध्येबाट कुनै एकलाई छान्नु पर्दछ । त्यसैगरि जनैका तीन सूत्रले परमात्मा जीवात्मा र प्रकृति यी तीन अनादि सत्ताको सम्यक ज्ञान प्राप्त गर्ने संकेत पनि दिन्छन् । जनै धारण गरेका व्यक्तिले परमात्मा के हो त्यसको स्वरूप कस्तो छ त्यसको प्राप्ति कसरी हुन सक्दछ इत्यादि कुराहरूलाई जान्ने प्रयत्न गर्नु पर्दछ । यसैगरी म को हुं, कहांबाट आएको हुं, मलाई कहां जानु छ र मेरो जीवनको लक्ष्य के हो ? इत्यादि आत्मज्ञान सम्बन्धि समस्याहरू सुल्झाउन निरन्तर प्रयत्नशील रहने संकेत पनि यसवाट मिल्दछ । प्रकृति के हो यसबाट उपयोग लिएर मानव जीवनलाई कसरी सुखी तुल्याउन सकिन्छ आदि सनातन प्रकृतिको विविध ज्ञान प्राप्त गर्नु पर्दछ यस रहस्यलाई हृदयंगम गरी जनै धारण गर्दछ भने त्यस व्यक्तिको जनै धारण गर्नु सार्थक हो भन्ने सन्देशपनि दिई रहेको छ ।

जनैका तीन सूत्रहरूको एक अर्को साह्रै महत्वपूर्ण कुराको रहस्य समेत लुकेर रहेको छ, जसको यहां समुद्घाटन गर्नु उपयुक्त छ । प्रत्येक मनुष्यलाई जन्मदै देखि तीनवटा ऋण लागेका हुन्छन् ‘पितृऋण’, ‘देवऋण’ र ‘ऋषिऋण’ प्रत्येक यज्ञोपवीत धारी व्यक्तिले यी तीन ऋणबाट मुक्त हुने वा तीन ऋण हुने निरन्तर प्रयत्न गर्नुपर्दछ । माता-पिताले जन्म दिएर लालन-पालन गरी सन्तानलाई हुर्काउछन् । उनिहरूको सेवा सुसार गरेर यो ऋण केही अंशसम्म तिर्न सकिन्छ । यसै कारण उपनिषदका ऋषिहरूले ‘मातृदेवो भव’ र ‘पितृदेवो भव’ भनेर उपदेश गरेका छन् ।

सामान्य रूपले ‘देव’को अर्थ ईश्वर हो तर इश्वर प्राप्ति कहां र कसरि हुन्छ भन्ने सवाल अष्पष्ट पारिएको छ । करूणामय ज्ञानमा ईश्वरत्वको असीम अनुकम्पा लुकेको हुन्छ । समाजिक रुपान्तरण र जनहीतप्रति ईमानदार रहेर नित्यनियम र ध्यानपूर्वक कार्य गर्नु, चिन्तन गर्नु र उपासना गर्नु ‘ब्रहृमयज्ञ’ कहलाउंछ यसैलाई ‘देवयज्ञ’ पनि भनिन्छ ।

ब्रहृमादेखि महर्षि जैमिनि र दयानन्द सम्मका सच्चा त्यागी-तपस्वी र वीतराग ऋषि-महर्षि तथा विद्वानहरू जसले शाश्वत वैदिक संस्कृति र सभ्यतालाई हामीसम्म सफलतापुर्वक ल्याईपुर्‍याएका छन् यसले आधुनीक समयमा पनि हामीलाई मार्गदर्शन गरिरहेका छन्, अवको हाम्रो कर्तव्य भनेको उनीहरूले दिएको विद्या पढेर, वेदहरूको स्वाध्याय गरेर समय सापेक्ष ढंगवाट प्रचार-प्रसार गरी ज्ञानगङ्गालाई प्रवाहमान राख्नु र‘ऋषिऋण’ बाट तीन ऋण हुने कार्य गर्नु हो ।

त्यसैगरि, जनैका तीन डोरा ब्रहृमग्रन्थि अथवा शिखाद्वारा परस्पर बांधिएका हुन्छन् । यसले के बोध गराउंदछ भने मनुष्यका लागि ज्ञान, कर्म र उपासना यी तीन साधन ईश्वरत्व प्राप्तिका आधारहरु हुन् । जनै धारण गरेर मनुष्य कामना गर्दछ कि म ज्ञान, कर्म र उपासनाद्वारा ईश्वरत्व प्राप्त गर्न सकुं, म जागृत, स्वप्न र सुषुप्ति अवस्थालाई पार गरेर तुरीय अवस्थामा व्रहृमसंग मेल गर्न सकुं र जीवनको उद्देश्य पूरा गरुं ।

म ठूला, साना र आफू बराबरीहरूका संग यथायोग्य व्यवहार गर्नेछु । अर्थात् ठूलाको आदर सम्मान, बराबरीहरूकासंग प्रेम र साना माथि दया माया र ममता प्रदर्शन गर्नेछु । यस्ता अनेकौं महत्वपूर्ण कुराहरूको दिव्य आदर्श जनैले प्रस्तुत गर्दछ । यस प्रकार जनैका तीन डोरा विज्ञानमय भै भरिएको छ ।

त्रिसूत्ररूप जनैका एक- एक डोरामा तीन-तीनका क्रमले ३×३=९ वटा मसिना-मसिना सूक्ष्म डोरा हुन्छन् ।
जनैका ९ वटा सूक्ष्म डोराको रहस्य के छ ? जनैका पवित्र ९ तन्तुमा नौ देवहरू अवस्थित रहन्छन् । जस्तैः-
ओङ्कारः प्रथमे तन्तौ द्वितीयेग्निस्तथैवच ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।
पञ्चमे पितृदैवत्यं, षष्ठे चैव प्रजापतिः ।
सप्तमे मरूतश्चैव अष्टमे सूर्य एवं च ।।
सर्वे देवास्तु नवमे इत्येतास्तन्तु देवताः ।।
पहिलोमा ओंकार, दोश्रोमा अग्नि, तेश्रोमा अनन्त, चौथोमा चन्द्रमा, पाचौंमा पितृगण, छैटौंमा प्रजापति, सातौंमा वायु, आठौमा सूर्य र नवौ सूत्रमा सबै देवता प्रतिष्ठित छन् ।
जनै धारण गर्ने व्यक्तिले जनैका सूत्रहरूमा स्थीत नौ देवहरू संग सम्वन्धित रहेका निम्न लिखित गुणहरूलाई आफू भित्र धारण गर्नुपर्दछः
ओंकार -एकत्वको प्रकाश, ब्रहृमज्ञान ।
अग्नि -तेज, प्रकाश, पापदहन ।
अनन्त -अपार धैर्य र स्थीरता ।
चन्द्रमा -मधुरता, शीतलता र सर्व पि्रयता ।
पितृगण -आशिर्वाद, दान र स्नेह ।
प्रजापति -प्रजापालन, प्रेम र सौहार्द ।
वायु -पवित्रता, बलशालिता र धारण शक्ति
सूर्य -गुण ग्रहण, नियमितता, प्रकाश, अन्धकारनाश र मल शोषण ।
सर्वे देवता -दिव्य र सात्विक जीवन ।

जसले जनैका यी पावन गुणहरूलाई स्मरण गरेर यिनीहरूबाट प्रेरणा प्राप्त गर्दछ । त्यसको जीवन उच्च, महान, यशस्वी र कान्तियुक्त रहन्छ ।
नौ सूत्रको एक अर्को रहस्य पनि छ, “अष्टचक्रा नवद्वारा देवानां पूरयोध्या” आठ चक्र र नौ द्वार भएको एक नगर छ, त्यो नगर हो मानव-देह । यज्ञोपवीतका नौ सूत्रले हामीलाइ एक सुन्दर सन्देश दिईरहेका छन् — प्रत्येक द्वारमा एक-एक प्रहरी नियुक्त गर जसबाट कुनै पनि दुर्गुण हामी भित्र प्रवेश गर्न नसकोस् । यी नौ द्वार मध्ये दुई आंखा, दुईकान, दुई नासिका छिद्र र एक मुख यी सात भए । यिनीहरूका लागि वेदमा भनेको छः “सप्त ऋषयः प्रतिहिताः शरीर” हाम्रा शरीरमा सात ऋषि (सप्तऋषि)हरू बसेका छन् । हामीले ज्ञानद्धारा मात्र यिनीहरूलाई ऋषि बनाउन सकिन्छ । यी अङ्गहरु ऋषि बने भने जीवनको कल्याण हुनेछ तर यी राक्षस वन्न पुगे भने जीवनको विनाश हुन्छ । बांकी दुई द्वार हुन् मल-मूत्र विसर्जन गर्ने छिद्र । यस प्रकार मानव देहमा नौवटा द्वार छन् ।
मातृवत् परदारेषु परद्रव्येषु लोष्टवत् ।
आत्मवत् सर्व भूतेषु यः पश्यति स पश्यति ।।
परनारीहरूलाई माताका समान, अर्काको धनलाई माटाको डल्ला समान र सबै प्राणीहरूलाई आफ्नै समान हेरौं किनकी यस्तो देख्ने नै वास्तवमा देख्ने हो ।
कानले हामी असल ज्ञानदायक कुराहरुमात्र सुनौं । यज्ञोपवीतधारी जीवन वेदमय हुनुपर्छ । वेदले पनि -“भद्रं कर्णेभिः श्रृणुयाम … ” अर्थात हामी कानले उत्तम कुरा सुनौं भनेको छ । यस्तै प्रकार नाकले उत्तम् दिव्य गन्धनै सुघौं, ‘ओ३मंको जप गरौं’ ( यो जप नाकबाटै हुन्छ ) । विषय वासनाको गन्धमात्र नसुंघौं ।
जिहृवाले सधै मिठो मधुर र शुद्धवाणी बोलौं । कटुभाषण, मिथ्या भाषण र बेकामे गफ नगरौं । अभक्ष भक्षण गरेर जीवन बर्वाद नगरौं ।
उपसथ र गुदालाई पनि संयममा राखौं, सच्चा, सदाचारी वनौं र ब्रहृमचार्य पालना गरौं । यही नै जनैको नौ सूत्रीय विज्ञान हो ।

सत्व, रज, तम, (प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोन) यी तीन गुणहरूले यो संकेत गर्दछन् कि यी तीन गुणहरू देखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ । माता, पिता र आचार्य यी तीन गुरू हुन् यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नु पर्दछ ।
स्वीट्जरल्यान्डका स्थायी बासिन्दा ‘रुडोल्फ होगर’ले हिन्दू धर्मावलम्बी तागाधारीहरुले लगाउने जनै र यसको ऐतिहासिक पक्षलाई समेटेर ‘दि सेक्रेट थ्रेइड’ नामक पुस्तक नै लेखेका छन् । पुस्तकमा जनै, यसको धार्मिक एवं ऐतिहासिक महत्व र आधुनिक समाजमा मानिसको मनोवैज्ञानिक पक्षलाई पार्ने सकारात्मक प्रभावलगायतका विषयहरुलाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । होगर’ले जनैलाई दी पावर अफ ट्रीनिटी को रुपमा व्याख्या गरेका छन् ।
वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ । के के कारणले जनै लगाउनाले मानिसको स्वास्थ्यलाई सकरात्मक प्रभाव पार्छ त ?
यसले हृदय रोगको सम्भावनालाई कम गर्छ ।
चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ ।
पिसाब फेर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ ।
निन्द्रामा भुत प्रेत आदिबाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ ।
काँधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ ।
यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ ।
यो रेखा दायाँ काँधबाट कम्मरसम्म फैलिएको हुन्छ, त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ ।
जसको कारण काम क्रोधमा नियन्त्रण राख्न सजिलो हुने विश्वास गरिन्छ । जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन् । जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो, यो सृष्टिकर्तासँगै जन्मिएको हुँदा यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुन्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन यस दिन विहान नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र,ऋषिपूजन आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरु गरिन्छ ।

 

तपाईको प्रतिक्रिया