संखुवासभाको चिचिला गाउँपालिका २ खेवाटारका गज बहादुर राईको खेत र अलैंची बगान पहिरोले क्षति पु¥याएको छ । उन्नती परियोजना अन्तर्गत शिलिचोङ गाउँपालिकाका साबिकका याफू र माङ्तेवा जोड्ने भ्याङ्खोला–तम्बे सडक निर्माणका क्रममा उनको अलैंची बगान र खेतमा क्षति पुगेको हो । राईको ३ मन अलैंची र १४ मुरी धान फल्ने खेत सडक निर्माणका क्रममा पहिरोले बगाएको हो । उक्त सडक खण्ड ट्रयाक निर्माणका क्रममा तीन वर्ष अघिदेखि राईको खेतमा पहिरो गइरहेको छ ।
साबिक याफु गाविसबाट विनियोजित ६० हजार रकमले २०६९ सालमा खेतमुनी याफू तर्फ जाने बाटोमा पर्खाल लगाएको राई बताउँछन् । उन्नतीको सडक खन्दा उक्त पर्खाल भत्काएपछी पहिरो जान सुरु गरेको राईले बताए । जेष्ठ २६ गते भारि वर्षाले अलैंची बगान र खेत पुरै बगायो । तर यसको क्षतिपूर्ति पाउँला भन्ने आश पनि मरिसकेको बताए ।

उनले क्षतिपूर्ति माग गर्दै गाउँपालिका, जिल्ला प्रशासन र जिल्ला स्थित उन्नतिको कार्यालयमा समेत निवेदन गरेका थिए । तर कुनै पनि निकायबाट क्षतिपुर्ति पाउने आश नरहेको राईले बताए । तर उन्नति परियोजनाको असार मसान्त देखि नै नेपालमा कार्य अवधि सकिएकाले क्षतिपुर्ति पाउने आश पनि मरिसकेको राईले बताए ।

तपाईको प्रतिक्रिया