उदयपुर, भदौ ७ गते / यतिवेला उदयपुरको पहाडी लेकतिर रातै पाकेका घँगरुले पाखो रंगाएको मात्र छैन बटुवा र विद्यार्थीसमेतको भोक मेटाइ दिएको छ ।
स्याउको सानो प्रजाती झै लाग्ने रातो फल घंगरु हेर्न आकर्षक हुन्छ भने खान गुलियो हुन्छ । गुलियो हुने भएकाले केटाकेटीले बढि रुचाउछन् । भोक लागेको खण्डमा जो कोही बटुवा र विद्यार्थीले पनि टिपेर खाने गर्दछन् । पहिले पहिले बेसितिरका अभिभावकले छोराछोरीलाई बजारको मिठाई भनेर पनि झुक्याउथे ।
असारदेखि नै पाक्न सुरु गर्ने घंगरुले भदौं, असोजसम्म राताम्ये पारेर पाखो सजाइरहेको हुन्छ । लट्टरम्म फल्ने यो फलको आकर्षणले वर्षाको थकाइ र सिकसिको मेटाइदिन्छ । मानिसहरु राताम्य घंगरुको आकर्षणमा हराउने गर्छन् ।
घँगरुको फल सामान्यरुपमा टिपेर खानेबाहेक खासै उपयोगिता भएको पाइदैन । त्यतिकै कुहेर, ओइलिएर जाने गरेको छ । ठाउँठाउँमा गुराँस, बेलको जुस बनाइएको अवस्थामा घंगरुको स्वादिलो गुलियोपनबाट जुस उत्पादन गर्न सके स्वास्थ्यवद्र्धक र लाभदायक हुनसक्छ । राम्रो आम्दानी हुनसक्छ । कसैकसैले मर्चा मिसाएर जाँड बनाउने र त्यसलाई रक्सी पारेर सेवन गर्ने गरेको पनि पाइन्छ ।
बलियो र आकर्षक घंगरुको बोटबाट प्रहरीको लौरो बनाइएको हुन्छ । प्रहरीको जवानदेखि उच्च दर्जाका अधिकारीले शोभनीय ढंगले घंगरुको लौरो बोकेको पाईन्छ ।
बुढापाकाको सहारा पनि बन्ने घंगरुको बोटको उचाइ र मोटाई ठूलो नहुने तर एकदमै बलियो हुने भएकाले लौरो बनाउन उपयुक्त भएको हो ।

तपाईको प्रतिक्रिया